detail-img

उमेरहदका कारण कसैलाई पनि पार्टीमा काम गर्न प्रतिबन्ध लगाउनु जरूरी छैनः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० बर्षे उमेरहद उपयोगी नभएकाले उक्त व्यवस्था निलम्बन गरिएको वताउनुभएको छ । 
अखिल नेपाल महिला संघ, बाग्मती प्रदेशको पहिलो सम्मेलनको  शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा उद्घाटन सम्बोधन गर्दै अध्यक्ष ओलीले ७० बर्ष उमेरहदको प्रावधानले पार्टी निर्माण, विस्तार र सुदृढ बनाउने कुरामा अफ्ठ्यारो पारेकाले हटाउनुपरेको स्पष्ट गर्नुभयो । 
७० बर्षे प्रावधान हटाएर सबैलाई प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको हुँदा किन हटाइयो भनेर आपत्ति गर्नु आवश्यक नभएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– उमेरहदका कारण कसैलाई पनि काम गर्न प्रतिबन्ध लगाउनुपर्ने जरूरी छैन । किन हटाइयो भन्नु राजनीतिक कुरा भएन ।


उहाँले काम गर्न नसक्ने ६० बर्षको भए पनि केही नहुने र काम गर्न सक्छ, सक्रिय हुन्छ भने ७० कटेकाहरूलाई पनि अवसर दिँदा फरक नपर्ने वताउँदै काममा ७० कटेकासँग दौडन सुझाउनुभयो । 
यो व्यवस्था दुनियाँमा कतै नभएको र  विगतमा कतिपय देशमा रहे पनि अहिले सच्याएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले समाज परिवर्तनको महान उद्देश्य लिएर अगाडि बढिरहेका हामीहरू नचाहिने कुरामा अल्झने होइन भन्नुभयो । 
उहाँले अहिले नेकपा (एमाले) जुन ठाउँमा छ, त्यसका लागि महिलाको असाधारण योगदान, भूमिका रहेको वताउनुभयो । 
राजनीतिमा पनि कहिले काहीँ बाढी आउनसक्ने हुँदा त्यसबाट तरङ्गित हुनुपर्ने जरूरी नभएको वताउँदै अध्यक्ष ओलीले युवा पुस्तामा छिटो परिवर्तन चाहिएको छ, त्यो नराम्रो कुरा होइन तर कति सम्भव छ भन्ने पनि बुझ्नुपर्ने भनाइ राख्नुभयो । उहाँले युवा पुस्तालाई गलत बाटोमा लाग्न दिन नहुने वताउनुभयो । 
अध्यक्ष ओलीले अनेमसंघलाई अझ बढी संगठित र क्रियाशील बनाउन आग्रह गर्दै नयाँ पुस्ताका दिदीबहिनी र छोरीहरूलाई संगठित गर्न सुझाउनुभयो । 
उहाँले नेकपा (एमाले) कर्मी मौरी हो, यसले कुनै पनि मानिसलाई रछ्यानमा होइन, फूलबारीमा पुर्याउँछ, सुन्दर ठाउँमा पुर्याउँछ भन्ने कुरा नयाँ पुस्तालाई सम्झाउन, बुझाउन महिलाहरूलाई आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टीको मिसन–२०८४ सफल पार्न देशभरका हरेक वडामा एमालेको बहुमत बनाउने अभियान चलाउन र हामीले जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । 
‘महिलाहरू दुर्गा र कालीको रूप धारण गरेर अगाडि बढिरहेकाले यो देश नबन्ने कुरै छैन’, अध्यक्ष ओलीको भनाइ छ । 
काम गर्दा हाम्रा पूर्वज र शहीदका सपना, आदर्शलाई सधै स्मरण गर्नुपर्ने वताउँदै उहाँले व्यक्तिगत स्वार्थ नभई देश र जनताका लागि काम गर्ने भावना जुन थियो, त्यसै भावना र आदर्शलाई जिउँदो राख्दै माथि उठाउनुपर्छ भन्नुभयो । 
अनेमसंका केन्द्रीय सचिव तथा बाग्मती प्रदेश इन्चार्ज शारदा कुमालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजन भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटव्युरो सदस्य सुशीला नेपाल, अनेमसंघका अध्यक्ष टुकाभद्र हमाल, नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।