detail-img

बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त 

काठमाडौं । नेकपा (एमाले) ले अविरल बर्षाका कारण बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । 
पार्टीद्वारा आइतबार विज्ञप्ति जारी गरी बाढीपहिरोबाट जीवन गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । 
नेकपा (एमाले)ले बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, जीवन रक्षा र उनीहरूलाई राहत उपलब्ध गराउन र घाइतेको उचित उपचार व्यवस्थाका लागि सरकारसँग जोडदार माग गरेको छ । साथै, प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार कार्यमा खट्न सम्बन्धित जिल्ला र पालिकाका पार्टीका कार्यकर्तालाई ध्यानाकर्षण गरेको छ । 
बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक जानकारीबारे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–संखुवासभामा सुपर हेवा जलविद्युत आयोजनाका १६ जना मजदुर बेपत्ता भएका छन् भने केहीको घाइते अवस्थामा उद्धार गरिएको छ । पाँचथरको फिदीमलगायत ठाउँमा छजना बेपत्ता भएका छन् । ताप्लेजुङमा सिदिङ्मा र सिरिजङ्घा गाउँपालिकामा बर्षाले क्षति पुर्याएको छ । सिदिङ्मा गाउँपालिकाको मेहेलेमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता छन् । तीनवटै जिल्लाका ठाउँ–ठाउँमा पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।