काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक अस्थिरता, विग्रँदो अर्थतन्त्र र सामाजिक, साँस्कृतिक अधोपतन र अधोगतिलाई रोक्ने नीति, कार्यक्रम र योजना वर्तमान गठबन्धन सरकारसँग नभएको वताउनुभएको छ ।
प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समिति बैठकलाई पार्टी कार्यालय, च्यासल, ललितपुरबाट भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली सामाजिक मूल्यमान्यता र संस्कृतिमाथि तीब्र प्रहार भइरहेको वताउनुभयो ।
राजनीति र अर्थतन्त्र बिग्रँदा केही समयपछि सुधार्न सकिने तर सामाजिक मूल्यमान्यता र सँस्कृति विग्रँदा सयौं बर्षमा पनि सुधार्न नसकिने वताउँदै उहाँले अहिले सामाजिक तथा साँस्कृतिक अधोपतनको लहर डरलाग्दो देखापर्दै छ भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सामाजिक मूल्यमान्यता र साँस्कृतिक अधोपतनले सबभन्दा बढी राष्ट्रियता कमजोर हुन्छ । त्यसकारण नेपाली मन, नेपालीपन कायम राखेर अगाडि बढ्नुपर्छ ।
देश अर्काले बनाइदिँदैन हामी आफैले बनाउनुपर्छ भन्दै अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा रहेको समयमा गरेका ऐतिहासिक र असाधारण कामका कारण त्रसित भई विरोधीहरू एमालेका विरूद्धमा संयुक्त ढङ्गले आइरहेको वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हाम्राविरूद्ध राज्यको नेतृत्व तहबाटै राज्यसंयन्त्रको दुरुपयोग गरेर आइरहेका छन् । हामीले गरेका काम ओझेलमा पार्न भ्रम फैलाउने काम भइरहेको छ । तर हामी प्रतिवाद गर्न नसक्ने अवस्थामा छैनौं । प्रतिकूलतालाई पराजित गर्दै र सफलता हासिल गर्दै अगाडि बढ्दै आएका छौं ।
नेकपा (एमाले)ले देश समद्ध र नेपालीमा सुख ल्याउन चाहेको र त्यस अनुसारका नीति, कार्यक्रम र योजनाका साथ अगाडि बढिरहेको वताउँदै अध्यक्ष ओलीले एमालेको पवित्र उद्देश्य र महान् कामविरूद्ध प्रवासबाट पनि भ्रम फैलाउने काम भइरहेकाले प्रवासमा रहेका देशप्रेमी नेपालीले ती भ्रमहरू चिर्नुपर्ने भनाइ राख्नुभयो ।
अपवित्र गठबन्धनमा रहेका स्वार्थीहरूका पार्टी र नेकपा (एमाले) बीचको अन्तर नीति र विचारमा मात्र होइन, पार्टीका नेताकार्यकर्ताको व्यवहार, आचरण, बोलीचालीमा पनि देखिनुपर्र्नेे अध्यक्ष ओलीले वताउनुभयो ।
नेकपा (एमाले) का नेताकार्यकर्तामा इमान्दारी र विनम्रता हुनुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– समाज र जनताले मन नपराउने व्यवहार नगर्नूस् ।
नेकपा (एमाले) का विरुद्धमा चौतर्फी घेराबन्दी भएपनि जनताको मतमा पहिलो पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले देश बनाउने नीति, विचार र योजना एमालेसँग मात्रै भएका कारण जनताको रोजाइको पार्टी भएको स्पष्ट गर्नुभयो ।
उहाँले हाम्रो पार्टीका नीति नै राज्यका नीति हुने गरेको र अरुले फरक नीति बनाएर जान नसकेको वताउँदै पार्टीका पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो ।
नेकपा (एमाले) राष्ट्र र जनहित विपरीत काम गर्दैन भन्ने कुरामा ढुक्क हुन आश्वस्त पार्दै उहाँले पार्टीविरूद्धका भ्रमपूर्ण प्रचार चिर्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीले चलाएको मिसन ग्रासरुटको पार्टीमा सकारात्मक प्रभाव देखिएको र अहिले जिम्मेवारी हेरफेरले पनि पार्टीलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको वताउँदै पार्टीको सम्पूर्ण ध्यान २०८४ को निर्वाचन केन्द्रित रहेको र सो निर्वाचनमा ५१ प्रतिशत जित हासिल गर्ने लक्ष्य रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो– यो अभियान सरकारमा पुग्नका लागि मात्र नभई अविकसित देशलाई विकसित बनाउने हो ।
प्रवासी नेपाली संघ, भारतका अध्यक्ष नारायण होमागाईको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेले अध्यक्ष ओलीको मार्गनिर्देशनबाट प्रवासीलाई उत्साहित बनाएको वताउनुभयो ।