काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको विकास सबैभन्दा दिगो विकास भएकाले प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बृद्धिमा जोड दिनुपर्ने वताउनुभएको छ ।
नेकपा (एमाले) कृषि तथा पशुपंछि विभागको छैटौं बैठकलाई पार्टी कार्यालय, च्यासलमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कृषि अर्थतन्त्र बलियो हुँदा आर्थिक मन्दिमा पनि घुँडा टेक्नु नपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– खानेकुराको बजार स्थायी हुन्छ । कृषि अर्थतन्त्र बलियो भए आर्थिक मन्दिले पनि असर गर्दैन ।
हाम्रो जमिन भौगोलिक, जलवायु, प्राकृतिक, वनस्पतीय र जैविक हिसावले खेतीयोग्य र जीवनमय छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– कृषि क्षेत्रलाई आधुनिकीकरण गरी खाद्यान्नको क्षेत्रमा आत्मनिर्भर हुने र कृषि उपज अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गर्ने अवस्थामा पुर्याउनुपर्छ ।
करिव ६० प्रतिशत जनसङ्ख्या कृषिमा संलग्न रहेको र कृषि पेशा बेस्सरी दुःख गर्दा पनि प्रतिफल निर्वाहका लागि पनि नहुने अवस्थाको रहेको हुँदा कृषिले गरिबी दिएको, रोजगारी दिन नसकेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– गरिबी र भोकमरी मानवका लागि नसुहाउने कुरा हुन्, यस अवस्थाको अन्त्य गर्नुपर्छ । जबसम्म भोकमरी, गरिबी र पछौटेपनको अन्त्य हुँदैन, मानवअधिकारको प्रत्याभूति हुँदैन ।
उहाँले देश विकासका लागि सर्वप्रथम गरिबीलाई भगाउनुपर्ने वताउनुभयो । मानिसले खाने र बाँच्ने कुरामा ढुक्क भएपछि मात्र अरू कुरा सोच्ने अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले कृषि क्षेत्रमा रोजगारीका अवसर पनि सबैभन्दा बढी रहेको वताउँदै कृषिलाई आधुनिकीकरण गरी यस क्षेत्रमा संलग्न जनसङ्ख्यालाई अन्यत्र सार्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– हरेक व्यक्तिको अर्थतन्त्रलाई वचतमा लैजानुपर्छ ।
निरोगी नेपालको नारा अगाडि सारेको सन्दर्भमा स्वस्थ र स्वच्छ खानाका लागि स्वस्थ कृषि उत्पादनमा ध्यान दिनुपर्ने वताउँदै अध्यक्ष ओलीले सर्वप्रथम रासायनिक मल र विषादीका कारण विरामी परेको हाम्रो माटोलाई स्वस्थ बनाउनुपर्छ भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– कृषिका लागि भूमि बैङ्क, सहकारी र सहकार्यमार्फत भूमिको उचित व्यवस्थापन गर्नुपर्छ । हाम्रा अनुसन्धान केन्द्रहरूले उत्पादन बृद्धि हुने खालका बीउविजनको विकास गर्नुपर्छ । अन्नमात्र होइन, बोटविरुवा, पशुपंछिको नश्ल सुधार गर्नुपर्छ । कृषिलाई उन्नत व्यवसायका रूपमा लिने अवस्थामा पुर्याउनुपर्छ ।
उहाँले कृषि नीति बनाउँदा ध्यान दिनुपर्ने विषयका बारेमा चर्चा गर्दै कृषिक्षेत्रमा आश्रित जनसङ्ख्यालाई पाँचबर्षमा ६० प्रतिशतबाट १५ प्रतिशतमा झार्ने र आधुनिक प्रविधिको प्रयोगबाट कृषि उत्पादनलाई बढाएर ८० प्रतिशतमा पुर्याउने योजनाका साथ अघि बढ्नुपर्ने भनाइ राख्नुभयो ।
बैठक पार्टीका केन्द्रीय सदस्य तथा विभागका प्रमुख गिरधारीलाई न्यौपानेको अध्यक्षतामा बसेको थियो ।