बीरगञ्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल–भारत सम्बन्ध घनिष्ट र मित्रवत् हुनुपर्ने वताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशद्वारा २०८० भदौ २ गते बीरगञ्जमा आयोजित ‘नेपाल–भारत खुला सिमाना, राष्ट्रका लागि अवसर वा चुनौती’ बिषयक अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले छिमेकीसँगको मित्रवत् सम्बन्ध नेपाल र नेपालीको प्राथमिकताको विषय भएको वताउनुभयो ।
महासचिव पोखरेलले दुई देशबीचको सम्बन्धलाई सम्मानित र घनिष्ट बनाउन स्वाभिमानी नेपालीसँगको व्यवहार समान हुनुपर्ने धारणा राख्नुभयो ।
महासचि पोखरेलले दुई देशबीचको खुला सिमानालाई नियमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल–भारतबीच खुला सिमाना भनिए पनि नेपालीका लागि खुला नभई नियन्त्रित रहेको कुरा सबै नेपालीले बुझ्नुपर्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली बस्तु तथा कृषि उत्पादन भारत निकासीका लागि शर्त रहेको हुँदा सीमा नियन्त्रित छ भन्ने कुरालाई बुझाउँछ भन्नुभयो । उहाँले भन्नुभयो– यहाँसम्मकी हाम्रो कृषि उत्पादनमा समेत शर्त रहेको छ । चिया, अलैची, अदुवा के चिज खुला र सहजै जान्छ भारतीय बजारमा ? सबैमा नियन्त्रण छ । अदुवा लगायत कृषि उत्पादनमा शर्त छ ।
महासचिव पोखरेलले सन् १९५० को असमान सन्धिका कारण यस्तो भएको वताउँदै भारतीय शासकको दबाबमा नेपालका राणा प्रधानमन्त्रीले सत्ता जोगाउन उक्त सन्धिमा हस्ताक्षर गरेको वताउनुभयो ।
भारत आफ्नो सामथ्र्यका कारण के चिज देशमा भित्रन दिने र के नदिने भन्ने निर्णय गर्न सक्ने तर नेपालले कमजोर सामथ्र्यका कारण त्यसो गर्न नसक्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले भन्नुभयो– नेपाली उत्पादन भारत निकासीका लागि शर्त राखिएका छन्, त्यस अर्थमा सीमा नियन्त्रित छ । जति हामी सजिलै खुला छ भनिरहेका छौं, खुला छैन, नेपालीका लागि नियन्त्रित छ । यो सत्यलाई हामीले बुझ्नुपर्छ ।
भारतीय नागरिकका हकमा भने धेरै हदसम्म सीमा खुला रहेको वताउँदै महासचिव पोखरेलले खुला सीमाको समान लाभ प्राप्त गरिरहेका छौं भन्ने कुरा तथ्यले मान्दैन भन्नुभयो ।
उहाँले भन्नुभयो– हामीले भारत श्रम निर्यात गर्ने गन्तव्य हो भन्ने बुझ्छौं तर नेपालीहरूले भारत गएर कमाउने पैसाको दोब्बर भारतीयहरूले नेपालमा आएर कमाएर लैजान्छन् । यो तथ्यले देखाउँछ ।
महासचिव पोखरेलले भन्नुभयो– सन् १९५० को सन्धिका कारण खुला सिमानामा हामी एकप्रकारले अनुबन्धित जस्ता भएका छौं । सन्धि सामान्य बेलामा भएको होइन, नेपाली शासकहरूको विवेक प्रयोग गरेर भएको होइन । नेपाली कांग्रेसको नेतृत्वमा मुक्ति सेनाको अगुवाईमा सशस्त्र विद्रोह भइरहेको बेलामा सीमाबर्ती क्षेत्रका बजारमा मुक्ति सेनाले कब्जा गरेपछि राणा प्रधानमन्त्रीलाई दिल्ली बोलाएर सत्ता अन्त्यको त्रास देखाएर गरिएको सम्झौता हो । नेपाल राष्ट्रको आवश्यकताले भएको सम्झौता हो भन्ने भनिन्छ भने त्यो भ्रमपूर्ण कुरा हो ।
‘बाध्यतामा पारेर गरिएको सम्झौता भएकाले सन् १९५० को सन्धिले स्वाभाविक रूपमा नेपालका पक्षका हितभन्दा भारतीय हितका पक्षहरूलाई बढी बोकेको छ । त्यसकारण हामी बढी उदार भएर दुबै देशका लागि उत्तिकै महत्वपूर्ण छ भन्ने ढङ्गले विवेचना गर्दछौं भने यो सत्य कुरा होइन ।’
नेकपा (एमाले) नेपाल र भारतबीचको खुला सिमानालाई नियमन गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले नेपाल र भारतका प्रबुद्ध समूहद्वारा तयार गरिएको इपीजी प्रतिवेदनमा पनि नेपाल–भारत सम्बन्धका अन्य विषयसँगै खुला सिमाना नियमनको सुझाव पनि रहेकोे वताउनुभयो ।
उहाँले भन्नुभयो– हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत दुई देशका विज्ञहरू रहेको प्रबुद्ध समूह गठन गरी तयार गरिएको इपीजी प्रतिवेदनमा नेपाल–भारत सम्बन्धका सन्दर्भमा दुई देशका प्रवुद्ध व्यक्तिको दृष्टिकोण के हो भन्ने कुरा छ । त्यो प्रतिवेदन भारतीय पक्षले बुझ्न नमानेका कारण अहिले त्यतिकै थन्किएको अवस्था छ । त्यो प्रतिवेदनमा खुला सिमानाका सम्बन्धमा पनि हाम्रो दृष्टिकोण छ । यद्यपि प्रतिवेदन सार्वजनिक नभएका कारण त्यसमा रहेका कुरा आधिकारिक रूपमा उद्धृत गर्नु गाह्रो विषय हो । तर पनि हामी खुला सिमानाको नियमनका पक्षमा छौं । प्रतिवेदनले त्यस कुरालाई आत्मसात गरेको छ । यसमा नेपाली पक्षको मात्र होइन, भारतीय पक्षका प्रबुद्ध व्यक्तिले पनि सहमति छ ।
महासचिव पोखरेलले खुला सिमानाका चुनौतीको सबभन्दा ज्यादा प्रभाव दुई देशका सीमावर्ती क्षेत्रका जनताले भोग्नुपर्ने हुँदा उनीहरूको हित र सुरक्षाका प्रश्नमा संवेदनशील हुनुपर्छ भन्नुभयो ।
नेपाल भारत सम्बन्धका विभिन्न पक्षका बारेमा चर्चा गर्दै महासचिव पोखरेलले विगतमा शान्ति सुरक्षा, सामाजिक सुरक्षाका दृष्टिले भारतका चेलीहरूको विवाह नेपालको तराई मधेशमा गरिदिने आकर्षण रहेको थियो तर त्यो अवस्था मधेश आन्दोलनपछि नरहेको भनाइ राख्नुभयो ।
मधेश आन्दोलनमा उठाइएका मुद्दाका कारण नभई आन्दोलनमा अपनाइएको तरिकाका कारण यस्तो भएको आफ्नो बुझाई रहेको महासचिव पोखरेले वताउनुभयो ।
उहाँले तराई मधेशमा सामाजिक अराजकता बढेका कारण महिला हिंसाका घटनामा पनि बृद्धि भएको र शान्ति सुरक्षाका पक्षमा नेपाली समाज सुरक्षित छ भन्ने मान्यता मधेश आन्दोलनपछि गुमाएको विश्लेषण सुनाउनुभयो ।
उहाँले भारतीय सामान तेस्रो मुलुकको व्यापारका लागि बन्द रहेका कारण भारतीयहरू तेस्रो मुलुकका सामान किन्न नेपाल आउने अवस्था पनि अहिले नरहेको वताउनुभयो ।
अपराध नियन्त्रणका सन्दर्भमा, हामीले हाम्रो देशमा हुने अपराधका घटनामा भारतमा लुकेर बसेको छ भने नेपाल प्रहरीले भारतीय पक्षको पर्याप्त सहयोग विना पक्राउ गर्न सक्दैन । तर भारतीय पक्षले नेपालमा अपराधी छ भन्ने ठान्यो भने नेपाली पक्षलाई जानकारी नदिई पनि पक्राउ गरेको छ । यसमा पनि खुला सिमानाका कारण समान व्यवहार छैन ।
भारतीय नम्बर प्लेटका गाडि नेपालमा निर्वाधरूपमा चल्न पाउँछन् । नेपालीका गाडि भारतमा निर्वाध चल्न पाउँदैनन् । खुला सीमाका अवसर र चुनौतीका बारेमा विमर्श गर्दा हामीले नेपालीको आँखाबाट हेर्नुपर्छ ।
अर्को, खुला सिमानाका कारण नेपालले भारतसँग व्यापार गर्न पाएको होइन, व्यापार सम्बन्धित मुलुकको आवश्यकता हो, हाम्रो आवश्यकता होइन । हामी त क्रेताका रूपमा जहाँ सस्तो छ त्यहाँबाट ल्याउन सक्छौं । भूपरिवेष्टित मुलुकका लागि तेस्रो मुलुकसम्म जाने पारबहनको अधिकार अन्तर्राष्ट्रिय अधिकार हो । बेला बखत हाम्रो त्यो अधिकार पनि अनेक बहानामा रोकिने गरेको छ ।
नेपाल–भारत सम्बन्ध खुला सिमानाको विषयमात्र होइन भन्दै उहाँले भन्नुभयो– समग्रतामा नेपाल–भारत बीच घनिष्ट सम्बन्ध अत्यन्त आवश्यका छ । किनकी हामी छिमेकी बदल्न सक्दैनौं । छिमेकीसँग मित्रवत सम्बन्ध नेपाल र नेपालीको प्राथमिकताको विषय हो । त्यसलाई सम्मानित बनाउन सम्बन्धलाई स्वाभिमानी नेपाली नागरिकसँगको व्यवहार समान हुनुपर्छ ।