detail-img

विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा, भदौ २० गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

-प्रतिनिधि र आयोजक गरी दुई हजार ३४१ जना सहभागी हुने
-पार्टीभित्र विचारमा कसैको असहमति नरहेको महासचिवद्वारा स्पष्ट 
१८ भदौ (२०८२), काठमाडौं । नेकपा (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच समुद्घाटन गर्नु हुने छ । 
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलनमार्फत विधान महाधिवेशनको तयारीबारे जानकारी गराएको छ । 
विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा थप ३१५ जना गरी कुल २३४१ जना सहभागी हुनेछन् । महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासाथ भव्य र सभ्य ढङ्गले सम्पन्न गर्न लागिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासामा महासचिव शंकर पोखरेलले पार्टीभित्र विचारमा कसैको पनि असहमति नरहेको स्पष्ट गर्नुभयो । पार्टीका दुईजना उपाध्यक्षहरूको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णयमा असहमति रहे पनि उहाँहरूको असहमति विचारमा नरहेको स्पष्ट गर्नुभयो ।  
विधान महाधिवेशनमा विचारमाथि छलफल हुने भएकाले केन्द्रीय कमिटी बैठकको निर्णयमाथिको असहमतिका विषयमा कहाँ छलफल गर्ने भन्ने सचिवालय बैठकबाट निर्णय हुने बताउनुभयो । ‘निर्णयमाथिको असहमतिका विषयमा पार्टीको सचिवालय वा राष्ट्रिय महाधिवेशन कहाँ छलफल गर्ने भन्ने पार्टीले निर्णय गर्ने छ’ उहाँले भन्नुभयो । 

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘सदस्यता खोसिएको होइन, परित्याग गरेको विषय हो। परित्याग गरेको विषयलाई पुन: कायम गर्ने कि नगर्ने भन्ने निर्णय पार्टीले गर्ने हाे। पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ।’

‘उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ’, महासचिव पोखरेलले भन्नभयो, ‘त्यो दस्ताबेजमाथिको फरक मत होइन केन्द्रीय कमिटीको निर्णय माथिको हो, त्यसैले भोलि बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुन्छ।’

पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू लालबाबु पण्डित, गोरखबहादुर बोगटी लगायत नेताहरूको उपस्थिति रहेको थियो । 

पत्रकार सम्मेलनमा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस विज्ञप्ति बाचन गर्नुभएको थियो । 
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति यस प्रकार छः  
पत्रकार मित्रहरू
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन यही भाद्र २०–२२ गते ललितपुर, गोदावरीस्थित सनराइज हलमा आयोजना गर्न लागिएको कुरा सहर्ष जानकारी गराउँछौं । सो ऐतिहासिक महाधिवेशनको एक विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र २० गते ११ बजे समुद्घाटन गर्नुहुने छ । दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २३४१ रहने छ । 
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको यो ऐतिहासिक दोस्रो विधान महाधिवेशनको गरिमा, औचित्य र महत्वलाई ध्यानमा राखेर यसको तयारी सम्पन्न भएको जानकारी गराउँछौँ । अभिवेशनको ऐतिहासिक, भव्य र सभ्य सफलताका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएका छन् । 
अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ । त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनहरु उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ । अन्त्यमा समसामयिक प्रस्तावहरु पारित गर्दै ऐतिहासिक दोस्रो विधान महाधिवेशन समापन गरिने छ । 
अध्यक्षले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने छ । राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको छ । निर्णायक राष्ट्रिय शक्तिका रुपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरेको छ ।
त्यसैगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ । साथै, पार्टीमा दुईखाले पार्टी सदस्यहरुको व्यवस्था, ७० बर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरु, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका हरक्षेत्रले हाम्रो पार्टीको देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थाप्रति विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको छ । मुलुकमा राजनीतिक स्थायित्व,राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ । 
विधान महाधिवेशनलाई भव्यरूपमा सम्पन्न गर्नका लागि आठवटा उपसमितिहरु निर्माण गरिएका छन् । महाधिवेशनको भव्य सफलताका लागि केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सम्पन्न भएको छ । केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन र बाग्मती प्रदेश कमिटी, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटी र जनसंगठनहरुको पहल र अगुवाईमा स्वागत गेट व्यवस्थापन हुने छ । 
पार्टीको विधान महाधिवेशन ऐतिहासिक महत्वको महाधिवेशन भएकाले यसको प्रभावकारितामा तपाई पत्रकार मित्रहरुको समेत महत्वपूर्ण भूमिका रहने कुरा यहाँ स्मरण गर्न उचित हुने छ । तथ्यगत रूपमा सूचनाहरुको सङ्कलन र सम्प्रेषण गरी यो महाधिवेशनलाई भव्य÷सभ्य बनाउन यहाँहरुको रचनात्मक सहयोग रहने अपेक्षा गरेका छौं । धन्यवाद !