धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीले २३ बुँदे भावी कार्ययोजना निर्माण गरेको छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सातौंं जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीको भावी कार्ययोजना तय गरेको हो । बैठकमा बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
कार्ययोजनामा अधिवेशनहरू गर्ने, संगठन विस्तार गर्ने, सदस्यता वृद्धि गर्ने, पार्टी कार्यालयहरू निर्माण गर्ने, जनसरोकारका विषय केन्द्रित काम गर्ने लगायत विषयलाई प्राथमिकता दिएर जिल्ला कमिटीले भावी योजना निर्माण गरेको छ ।
२०८१ जेठ महिनाभित्र पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने, असारभित्र सात वटै पालिका अधिवेशन गर्ने, साउनभित्र ६० वटै वडा कमिटीको अधिवेशन गर्ने र आगामी चैत मसान्तसम्ममा सबै टोलमा पार्टीको संगठन निर्माण गर्ने योजना बनाइएको छ ।
आगामी पुस मसान्तसम्ममा जनसङ्गठनका बाँकी जिल्ला अधिवेशन सक्ने, मंसिर मसान्तसम्ममा पालिका स्तरमा सबै जनसङ्गठनको गठन÷पुनर्गठन गरिसक्ने, चैत मसान्तसम्ममा सबै वडामा जनसङ्गठनका कमिटीहरू निर्माण गर्ने योजना छ ।
आगामी पुस मसान्तसम्ममा सबै पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने, प्रशिक्षणलाई व्यवस्थित गर्न पार्टी स्कुल स्थापना गर्ने, जिल्ला पार्टी कार्यालयमा पुस्तकालय निर्माण गर्ने, कार्यालय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, पार्टी प्रवेशलाई तिव्रता दिने र मंसिर मसान्तभित्र सदस्यता नवीकरण पुरा गर्ने कार्ययोजना बनाइएको छ ।
पालिका र वडाहरूमा पार्टी कार्यालय व्यवस्थित गर्ने योजना पनि अघि सारिएको छ । महालक्ष्मी र छथर जोरपाटीको पार्टी कार्यालय आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न गरेर आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने, पाख्रिबास र सहिदभूमिको पार्टी कार्यालय निर्माण कार्य यसै आर्थिक वर्षमा सुरु गरेर २०८१ चैत मसान्तसम्ममा निर्माण गरिसक्ने, चौबिसे र साँगुरीगढीमा पनि यसै आर्थिक वर्षभित्र जग्गा व्यवस्थापन गरी भवन निर्माणको काम थाल्ने योजना बनाइएको छ । शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर जनसरोकारका विषयमा सिङ्गो पार्टी शक्ति परिचालित हुने योजना पनि तय गरिएको छ ।
बैठकले १२ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको प्रचार विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख तारा तितुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि बैठकले पारित गरेको छ । बैठकलाई पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष पराजुली, उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई लगायतले सम्बोधन गर्नुभएको थियो ।
०७८ पुस २३ र २४ गते एमालेको ७ औं जिल्ला अधिवेशन भएको थियो । अधिवेशन पश्चात पहिलो पटक प्रतिनिधि परिषद् बैठक बसेको हो । बैठकमा नौसय भन्दा बढी प्रतिनिधि सहभागि थिए ।
भूकम्प प्रभावित क्षेत्रमा रमिता होइन राहतको खाँचो ः बरिष्ठ उपाध्यक्ष पोखरेल
धनकुटा । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी बिशिष्ट व्यक्तिको लावालस्करले आतङ्क मच्चाएको बताउनुभएको छ ।
प्रेस चौतारी धनकुटाले बिहिबार (२०८० कात्तिक २३ गते) जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतङ्क खडा गरेको बताउनुभयो ।
राहत लिएर जाने भन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको उहाँको भनाइ छ । विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताउनुभयो ।
भूकम्प पीडितलाई राहत र उपचारका क्रममा पनि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो आएको भन्दै उहाँले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै नेता पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरुलाई पुनस्र्थापित गर्न सहयोग गर्ने जानकारी दिनुभयो ।
प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली लगायत सहभागी हुनुहुन्थ्यो ।