detail-img

जाजरकोट र रुकुममा एमालेद्वारा ८१३ अस्थायी आवास निर्माण

जाजरकोट । नेकपा (एमाले) का स्वयंसेवकहरूले जाजरकोट भूकम्प प्रभावितका लागि ८१३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् । 
बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट  ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८१३ वटा निजी आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको  प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।  
कात्तिक १८ गते नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । लगत्तै बसेको पार्टीको सचिवालय बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । संयोजक पौडेलका अनुसार कात्तिक १८ गतेदेखि नै पार्टीको जिल्ला कमिटी, विद्यार्थी र युवाहरू उद्धार, खोज र राहतमा लागेका थिए ।

विपदले विक्षिप्त मनमा थोरै भए पनि खुशी ल्याउने काम गरेका छौः पौडेल


‘यहाँ हामीले धेरै गरेका छैनौं तर केहि काम भने गरेका छौं’ संयोजक पौडेलले भन्नुभयो– जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन, हरेक मान्छेका मन पनि क्षतविक्षत छन् । विपदले विक्षिप्त भएका मनमा थोरै भए पनि खुशी ल्याउने काम गरेका छौं । यो बीचमा खुला आकाशमुनि भोको पेटमा, हप्तौं ननिदाएका  आँखाहरूमा निद्रा ल्याउने काम गरेका छौं ।
उहाँले भन्नुभयो– भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा हामीले स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैले व्यवस्थापन गरेका छौं । 
चौबीस घण्टा पैदल यात्रामा रहेको टिकाचौर जस्ता गाउँमा समेत स्वयम्सेवकका रूपमा सेवा गरेको संयोजक पौडेलले बताउनुभयो । 
‘हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज र उद्धारका कामका साथै सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं  । नलगाड नगरपालका– १ को कल्पतमा २५ वटा रहरलाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढी प्राथमिकता दियौं । चुनावको प्रचारमा नेताहरू नपुगेको  स्थानमा हामी काम गर्न पुगेका छौं । जनताको केही पनि नलिने र जनतालाई भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको फलफूल, तरकारी, साग, मासु ल्याएको नकार्न सकेनौं’ संयोजक पौडेलले भन्नुभयो ।
आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउनु भएका पौडेलले काम गर्ने सन्दर्भमा अरु पार्टीसँग कहिल्यै होडबाजी नगरेको बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयदेखि सहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको त्यहाँ खटिएका स्वयम् सेवकहरूले बताएका छन् । 
दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम्सेवकहरूलाई बिदाई गर्दै स्वयम्सेवक टोलीका संयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी  पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गर्नुभयो । 
नेकपा (एमाले)का स्वयंसेवकहरूले कात्तिक ३० गतेदेखि काम थालेका थिए । पहिलो टोलीका रूपमा जिफण्टका एक सय जना स्वयम् सेवक परिचालन गरेर शुरू भएको थियो । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४०  समूह परिचालित थिए । पार्टीका सबै प्रदेश कमिटीहरू र जनसंगठनहरूबाट खटिएका स्वयंसेवक भूकम्प  पीडितको सेवामा खटिएका हुन् ।  यसैबीच नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले खटाएको स्वयंसेवक टोलीले भूकम्पबाट बढी प्रभावित जाजरकोटको नलगाड नगरपालिका–१ स्थित चिउरी तथा राम्री गाउँमा पालमुनि बसिरहेका ४५२ जना व्यक्ति लाभान्वित हुने गरी ८७ वटा अस्थायी घरटहरा निर्माण गरी हस्तान्तरण गरेको उपत्यका प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले बताउनुभयो । 

भूकम्पबाट जाजरकोटमा १०१ र रुकुमपश्चिममा ५३ गरी १५४ जनाले ज्यान गुमाएका थिए भने ९४ जना गम्भीर घाइते भएका थिए । भूकम्पले जाजारकोट जिल्लामा मात्रै नौ हजार ७९४ घर पूर्णक्षति गरेको थियो भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुर्याएको थियो ।