detail-img

देशलाई सकारात्मक बाटोमा फर्काउनु अहिलेको चुनौतीः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि देशको नेतृत्व एमालेले गर्नुपर्ने जनताको अपेक्षा रहेकाले  त्यो अपेक्षा पूरा गर्न सिङ्गो पार्टीपङ्ती मिसन–२०८४ सफल बनाउन क्रियाशील हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आज (२०८० मङ्सिर २० गते) गुल्मीको मुसीकोट नगरपालिका, वामीटक्सारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमत भएन भने जनताको अपेक्षा पूरा गर्न नसकिने बताउनुभयो । 
नेकपा (एमाले सरकारमा रहेन भने देश कङ्गाल हुने रहेछ भन्ने दुई वर्षमा नै पुष्टि भएको बताउँदै अध्यक्ष ओलीले देश बनाउन एमाले नै चाहिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले)ले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना जनताको सपना साकार हुनेवाला छैन । 
पार्टीले अगाडि सारेको मिसन– २०८४ अभियान एमालेको लागि मात्र नभएर देशको विकासका लागि, राष्ट्रियताको लागि, समृद्धि र सुशासनको लागि भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले  मिसन–२०८४ मा लाग्न सबै जनसंगठनलाई निर्देशन दिनुभयो ।


एमालेप्रति जनताको ठूलो विश्वास र भरोसा रहेको र त्यो भरोसालाई मर्न दिन नहुने बताउँदै नागरिकको भरोसा पूरा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रालाई नागरिकले आत्मीयताका साथ सम्मान व्यक्त गर्नुभएको भन्दै नागरिकको सहयोग, सम्मान र मायाप्रति पार्टीका तर्फबाट आभार व्यक्त गर्नुभयो । 
पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानका बारेमा प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो– देशका कुन कुन ठाउँमा कस्ता समस्या छन्, जनताले कस्ता समस्या भोगिरहेका छन्, भूकम्प पीडितको अवस्था कस्तो छ, एमालेका स्वयंसेवकले कसरी काम गरेका छन् ? भन्ने कुरा हेर्न पनि यात्रा आयोजना गरिएको हो । 
उहाँले नेकपा (एमाले)का स्वयंसेवकहरूले ज्यानको बाजी लगाएर भूकम्प पीडितहरूका लागि अस्थायी घरटहरा बनाउने, भत्किएका घरहरूका भग्नावशेष हटाउने, पुरिएका सामान झिक्ने लगायत काम गरेको भन्दै धन्यवाद दिनुभयो ।
सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा काम नभएको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुका साथे नागरिकलाई छिटो आवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो राष्ट्रिय गन्तव्य बनाएको नेकपा (एमाले) सिङ्गो नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको बताउँदै उहाँले कसैले पनि अधिकार र अवसरबाट वञ्चित हुनु नहुनेमा जोड दिनुभयो । 
नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीका अध्यक्ष बालसिं काउछाको अध्यक्षतामा भएको सभामा नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जिल्लाको बस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । 
गुल्मीको वामीटक्सारमा आयोजित आमसभामा जिल्लाका नेताकार्यकर्ता र सर्वसाधारण नागरिकसहित हजारौंको उत्साहजनक सहभागिता रहेको थियो । 
रुकुमकोटमा जनतासँग सार्वजनिक भेटघाट
अध्यक्ष ओलीले यस अघि रुकुमकोटमा आयोजित जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई कसरी सकारात्मक बाटोतर्फ फर्काउने भन्ने कुरा नै अहिलेको चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– आज देशको राजनीति अन्योलग्रस्त छ, निराशायुक्त छ, अस्थिर र अराजक बनेको छ, देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ, त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठेरो, असहज र बिग्रिएको अवस्थामा छ र बिग्रँदै छ । 
देशमा बढ्दो भ्रष्टाचार र अपराधीकरणप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– अपराधीलाई समात्नै नमान्ने र समातिहाले पनि मुद्दा हाल्न नमान्ने, मुद्दा हालिहाले पनि फिर्ता लिने र सजाय मिनाहा गर्ने लज्जास्पद र घिनलाग्दो कुरा राज्यको तर्फबाट गरिएको छ । 
सरकारको कारण लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको, राष्ट्रिय स्वाभिमान गिरेको र विकासको काम रोकिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नेपाल सरकारले अहिले छिमेकीसँग ठाडो शिर गरेर कुरा समेत गर्न नसक्ने अवस्था रहेको र त्यो अबस्थाबाट देशलाई उठाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– विकासको गतिलाई फेरि अगाडि बढाउनु छ, देशमा सुशासन कायम गर्नु छ ।


अध्यक्ष ओलीलगायत नेताहरू पूर्वी रुकुमको रुकुमकोटमा विकास र समृद्धिका लागि सर्वदलीय सर्वपक्षीय अन्तक्रियामा पनि सहभागी हुनुभयो । 
अध्यक्ष ओलीलको नेतृत्वमा ‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ नाराका साथ पुष्पलाल मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रामा हिडेको नेकपा (एमाले)को अभियान टोली आज रुकुमकोटबाट १३० किलोमिटर यात्रा तय गरी बाग्लुङको गल्कोट आइपुगेको छ । यस क्रममा अभियान टोलीलाई पूर्वी रुकुमको लुकुम र बाग्लुङको खर्वाङ बजारमा स्थानीय पार्टी कमिटी, कार्यकर्ता र जनताबाट बाजागाजासहित स्वागत गरिएको थियो । अध्यक्ष ओलीले बाग्लुङको ढोरपाटन नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पनि सम्बोधन गर्नुभएको थियो ।