detail-img

‘नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन’

कुश्मा(पर्वत) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र  लिम्पियाधुराको जमिन दिएर बङ्गलादेश जाने बाटो लिने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  नभएको बताउनुभएको छ । 
समृद्विका लागि सङ्कल्प यात्राको क्रममा पर्वतको कुश्मामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– बङ्गलादेशको बाटो नेपालले पहिले नै लिइसकेको छ । बाटोको नाममा नेपाली भूभाग सुम्पने अधिकार प्रधानमन्त्री प्रचण्डलाई छैन । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला जमिन सट्टापट्टा गर्ने प्रस्ताव राखेको भन्ने सुनियो, यदि त्यसो गरिएको हो भने यो राष्ट्रप्रति ठूलो बेइमानी हो  ।

देशमा सरकार त छ  तर काम लाग्ने खालको छैन भन्दै अध्यक्ष ओलीले भन्नुभयो– हामीले उत्तरतिर नाका खोल्यौँ तर ती नाका सञ्चालन गर्ने यो सरकारसँग कुनै दम छैन ।
जाजरकोट र रूकुममा भूकम्पले ठूलो जनधनको क्षति भयो तर सरकारले राहत दिनुपर्नेमा कानमा तेल हालेर बसेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यो सरकार देशका लागि बोझ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– देश कसैको विर्ता होइन, हामीले सामना गर्न नपरोस्, यात्राको क्रममा अवरोध गर्ने जस्ता दुषित बुद्वि छाडिहाल नभए यसले सत्यानाश गर्नसक्छ ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार काम गर्ने होइन काम बिगार्न बनेको बताउनुभयो । 
एमालेले नेपालको नक्शा अद्यावधिक गरी (कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटर चुच्चे नक्सा बनाएको) संविधानको अङ्ग बनाएको भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन त के बोल्न पनि नसकेको अध्यक्ष ओलीको भनाइ छ  । 
सरकारका कामले जनतामा निराशा र अन्यौलता मात्र बढेको उहाँले बताउनुभयो । 
देशमा मेडिकल कलेज खोल्न नदिने, नर्सिङ कलेज बन्द गरेर विद्यार्थीलाई विदेश पठाउने काम सरकारले गरेको अध्यक्ष ओलीले बताउनुभयो । अहिले ऋण काढेर कर्मचारीलाई तलब खुवाएर सरकार चलिरहेको प्रष्ट पार्दै यही स्थिति रहने हो भने नेपाल असफल राष्ट्रतर्फ उन्मुख हुने उहाँको भनाइ छ । 
देशको यस्तो अवस्थालाई हेरेर केही प्रतिक्रियावादी शक्तिहरू सल्बलाएका बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– नेपाली जनताले अनेक कष्ट सहेर राजतन्त्र फालेकाले अब राजतन्त्र फर्कँदैन ।  
अहिले पहिचानवादीका नाममा केही व्यक्तिले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने काम गरिरहेको उहाँले बताउनुभयो । विदेशीको इशारामा केही व्यक्तिले वितण्डा मच्चाउने प्रयास गरेको बताउँदै उनीहरूले नेकपा (एमाले)को यात्रालाई कोशीमा प्रवेश गर्न दिँदैनौँ भनेर दिएको अभिव्यक्तिको अध्यक्ष ओलीले निन्दा गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभामा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले अध्यक्ष केपी शर्मा ओली देशलाई नयाँ युगमा प्रवेश गराउने महानायक भएको बताउनुभयो । पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गिरीले जिल्लाको अवस्थाबारे अभियान टोलीलाई जानकारी गराउने क्रममा अध्यक्ष ओली समृद्ध नेपाल सुखी नेपालको स्वप्नद्रष्टा भएको बताउनुभयो । 
अध्यक्ष ओली प्रधानमन्त्री हुँदा पर्वतमा शुरू गरिएका विकासका सबै योजना वर्तमान गठबन्धन सरकारले अलपत्र पारेको सांसद गिरीले बताउनुभयो । 
कालीगण्डकी करिडोरको काम सरकारले ठप्प पारेको भन्दै उहाँले अध्यक्ष ओलीको ध्यानाकर्षण गराउनुभयो । काम भइरहेको सडकको समेत सरकारले भुक्तानी नदिँदा काम रोकिएको उहाँले जानकारी गराउनुभयो । संघीय सरकारले विगतमा विभिन्न सडकमा छुट्याएको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको भन्दै उहाँले त्यसमा ध्यान दिन  अध्यक्ष ओलीलाई अनुरोध गर्नुभयो । 
सुरुङ मार्गको अध्ययनको लागि एमालेको सरकारले बजेट विनियोजन गरेको भए पनि अहिलेको सरकारले सो काम समेत रोकेको उहाँले बताउनुभयो । गाउँ गाउँमा अस्पताल निर्माणको लागि छुट्याएको बजेट सरकारले रोकेको उहाँले जानकारी दिनुभयो । पर्वतको फलाम खानीको उत्खननको लागि छुट्याएको बजेट पनि वर्तमान सरकारले रोकेको उहाँले बताउनुभयो । 
यसैबीच, यात्रा अभियान टोलीलाई कास्कीको हेम्जामा ठुलो जनसमुदायद्वारा स्वागत गरिएको छ । 
बिहीबार साँझ हेम्जा पुगेको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका हुन् । चिसोको समेत ख्याल नगरी दिउँसोदेखि जम्मा भएका स्थानीय साँझ अबेरसम्म पनि समृद्धिका लागि सङ्कल्प यात्रा  टोलीलाई स्वागत गर्न बसेका थिए ।


बागलुङ गलकोटबाट सुरु भएको आजको यात्रामा बागलुङ बजार, कास्कीको नयाँ पुल रामटार,काँडे लगायत ठाउँमा ठूलो जनस्तरबाट अध्यक्ष ओली लगायत टोलीलाई स्वागत गरिएको  थियो । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा टोली आज १३० किलोमिटर दुरी यात्रा गरी पोखरा आइपुगेको छ ।