detail-img

८१६ अस्थायी आवास र १६ वटा विद्यालय निर्माण, ५०३ भग्नावशेष व्यवस्थापन गरी फर्कियो स्वयंसेवक टोली 

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजारभन्दा बढीको नेकपा (एमाले)को स्वयंसेवक टोली करिब तीनसाता सेवा गरेर फर्किएको छ । 
कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदारसहितको नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम थालेका थिए । 
कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सकसहितको टोली खटाइएको थियो ।


प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि कात्तिक ३० गते दक्ष जनशक्तिसहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट हिँडेको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टोली प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।  
प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुमपश्चिम काम गरेका थिए ।  
सो अवधिमा एमालेका स्वयंसेवकले ५०३ वटा भग्नावशेष व्यवस्थापन गरेको स्वयंसेवक टोलीका नेतृत्वकर्ता किरण पौडेलले जानकारी दिनुभयो । 
‘धराप घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्णरूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ’, उहाँले भन्नुभयो । 
सो क्रममा ८१३ अस्थायी आवास निर्माण गरिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपले विपन्न परिवारलाई लक्षित गरेर स्वयंसेवक परिचालित गरिएको पौडेलले बताउनुभयो । 
एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले भवन भत्काएपछि पठनपाठन बन्द भएका ती विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणपछि पढाइ शुरू भएको छ । 
स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माण अभियान भने रोकिएको छैन । नेकपा (एमाले) जिल्ला कमिटीको नेतृत्वमा अभियान जारी छ । 
हामीले सामाग्रीहरू स्थानीय नेतृत्वलाई नै छाडेका छौ, बागमतीबाट एउटा टोलीको नेतृत्व गरेका राज मैनालीले जानकारी दिनुभयो । 
नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आफ्नो अनुभवका आधारमा नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामको बारेमा केही सुझावसमेत दिएको छ । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको बताउँदै विभाग प्रमुख पौडेलले व्यवस्थित शौचालयको कमीका कारण महामारी फैलनसक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  
हालसम्म पुनर्निर्माणको खाका तयार नभएकाले देशभित्रका पूर्वाधार विकाससम्बन्धी दक्ष जनशक्तिलाई स्थानीय सरकारमार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव छ । त्यस्तै अस्थायी आवास निर्माणका लागि सरकारले प्रतिपरिवार घोषणा गरेको ५० हजार रूपैयाँको विलम्व भएकामा पनि छिटो उपलब्ध गराउन एमालेले झकझक्याएको छ । 
भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा मनोपरामर्शदाता परिचालन गर्न, ढलेका घरमात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि प्रभावित क्षेत्र उठाउन एमालेको सुझाव छ । 
सो भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने २ सय ७५ जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट एक लाख ८० हजार भन्दा बढी नागरिक प्रत्यक्षरूपले प्रभावित बनेका छन् ।
तथ्याङ्क अनुसार जाजरकोटमा नौ हजार ७९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार ७०७ घर आंशिकरूपमा क्षति भएका छन् । रुकुममा १६ हजार ५७० निजी घरहरू पूर्णरूपमा ध्वस्त भएका छन् भने नौ हजार ९६१ आंशिक क्षति भएको आकलन गरिएको छ ।