detail-img

देशको विकास, सुशासन र राष्ट्रियताको रक्षाका लागि एमालेको एकल बहुमतको सरकार आवश्यकः अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन–२०८४ देशको विकासका लागि भएको बताउनुभएको छ । 
पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानका क्रममा विहीबार साँझ कास्कीको हेम्जामा आयोजित सन्देश सभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बन्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) सरकारबाट बाहिरिएको दुईबर्षमै वर्तमान गठबन्धन सरकारले देश कङ्गाल बनाएको बताउँदै अध्यक्ष ओलीले देशको विकास, सुशासन, राष्ट्रियताको रक्षा र आर्थिक समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।


उहाँले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा देश विकासका लागि स्थानीय आवश्यकता र सम्भावनाबारे अध्ययनका साथै मिसन–२०८४ लक्ष्यित अभियान भएको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) देशको विकास र जनताको हित निम्ति चिन्तित राष्ट्रवादी शक्ति भएको बताउँदै आगामी निर्वाचनपछि एमालेको सरकार बनाउन जनताको साथ र सहयोग अझ बढी चाहिएको हुँदा यो यात्रा अभियानमा निस्केको जानकारी गराउनुभयो । 
पूर्व प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको समयमा देश विकासका काम द्रूत गतिका साथ अगाडि बढाइएको चर्चा गर्दै विरोधीहरू आत्तिएर सरकार ढालेको बताउनुभयो । 
आफ्नो नेतृत्वको सरकारले गरेका काम कोही पनि नागरिकले आफू उभिएकै ठाउँबाट हेर्न र देख्न सक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– म प्रधानमन्त्री हुनुअघि एकवर्षमा १० किलोमिटर बाटो कालोपत्रे हुन्थ्यो । म प्रधानमन्त्री भएपछि एकैदिनमा १० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्न थालियो, त्यो पनि सिङ्गल लेन होइन, डबल लेन, फोर लेन, सिक्स लेनको । 
उक्त सरकारले पाँचबर्ष काम गर्न पाएको भए अरू राजनीतिक दलका सटर बन्द हुने थिए भन्नुहुँदै अध्यक्ष ओलीले विरोधी दल र तिनका अभिभावक बनिरहेका वैदेशिक शक्तिहरू डराएर एमालेको सरकार ढलाएको स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले)लाई सरकारबाट हटाएर, पार्टी विभाजन गराएर सिध्याउने षडयन्त्र भए पनि एमाले अझै सशक्त भएर आएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले अहिले विकास निर्माणका कामका लागि देशभरिका जनतासँग भेटेर, मागपत्र लिएर यात्रा गरिरहेको र यसका आधारमा नीति कार्यक्रम र योजना बनाइने प्रस्ट पार्नुभयो । 
उहाँले लोकतन्त्रलाई संस्थागत गर्न एमाले जुनसुकै सङ्घर्ष गर्न पनि तयार रहेको बताउनुभयो । 
अध्यक्ष ओलीले नेपाली जनताको गरिबीा, कष्ट, दुःख र नेपाल विकसित हुन नपाउनुको प्रमुख कारण राजतन्त्र भएको भन्नुहुँदै अब राजतन्त्र कहिल्यै नफर्किने बताउनुभयो । उहाँले भन्नुभयो– १६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र अब फर्किनेवाला छैन, सामन्ती राजतन्त्रलाई फेरि फर्किन दिइने छैन । 
देशको भू–भाग मिचिँदा राजतन्त्रले फिर्ता ल्याउन नसकेको बताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– राजतन्त्रले त्यत्रो समय राज गर्दा हामीले भोगचलन गरेको हाम्रो भूमी लिपुलेक, लिम्पियाधुरा, कालापानी किन फिर्ता ल्याएन ? किन भारतले कब्जा गरेको छ भनेर बोल्न सकेन ? 
अध्यक्ष ओलीले दिउँसो बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको बताउनुभयो । 
अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ । यसले स्वाधिनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा बोल्न सक्दैन । 
उहाँले वर्तमान गठबन्धन सरकार चरम असफल सरकार भएको र गैरजिम्मेवार र इमान नभएर मात्रै सरकारमा बसिरहेको भनाइ राख्नुभयो । 
कास्की प्रवेश गरेको अभियान टोलीलाई मध्यपहाडी राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरिएको थियो । विहीबार दिनभर मौसम चिसो रहे पनि नेकपा (एमाले) को पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियान टोलीको स्वागतका लागि हेम्जामा साँझ अबेरसम्म हजारौं मानिस उत्साह र उत्सुकताका साथ प्रतीक्षा गरी बसिरहेका थिए ।