detail-img

राजनीतिक स्थिरता  र लोकतन्त्र बलियो बनाउने काम एमाले बाहेक कसैले गर्न सक्दैनन्ः अध्यक्ष ओली

लमजुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता दिने र लोकतन्त्रलाई बलियो बनाउने काम एमालेबाहेक कसैले गर्न नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले)को जारी पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानको नवौं दिन आज लमजुङको सुन्दरबजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउने काम एमालेबाहेक अरू जतिवटा राजनीतिक दल मिले पनि नसक्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र सकारात्मक दिशामा अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमालेबाहेक अरूले गर्न सक्दैनन् ।


अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या र ती समस्या समाधान गर्न कहाँ कहाँ के के गर्नुपर्छ भनेर नेकपा (एमाले)ले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा सञ्चालन गरेको प्रस्ट पार्नुभयो । 
‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ नामाकरण गरिएको यस यात्राको क्रममा नागरिक स्तरबाट उठेका समस्यामा एमालेको ध्यान गएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकका समग्र समस्या थाहा भएको बताउनुभयो ।
नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अढाई वर्षमा देशको अर्थतन्त्र नराम्रोसँग ओरालो लागेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– राजनीति बिग्रियो, अस्थिरता, अन्योल, अविश्वास, असन्तुष्टि, अराजकता र विभिन्न प्रकारका फाटोवादी, अस्थिरतावादी, प्रतिक्रियावादी शक्ति सल्बलाउनेसम्मको स्थिति बन्यो, राजनीति ओरालो लाग्यो, देशको अर्थतन्त्र त्यसैगरी ओरालो लाग्यो, विकास निर्माणका काम ठप्प भए । 
कार्यक्रममा लमजुङ जिल्लाको तर्फबाट जिल्लाका समस्याका बारेमा जानकारी गराउँदै पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले एमालेको सरकार विगठन भएपछि देशमा विकासको गति रोकिएको बताउनुभयो । 
उपमहासचिव गुरुङले एमाले सरकारले शुरू गरेको मध्यपहाडी लोकमार्ग निर्माणको काममा समेत गठबन्धन सरकारले ढिलाइ गरेको बताउनुभयो । 
सांसद गुरुङले जिल्लामा सञ्चालित अधिकांश विकास योजनाको बजेट सरकारले कटौती गरेका कारण विकास योजना अलपत्र परेका बताउनुभयो । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा टोली आज गोरखा आइपुगेको छ ।