गोरखा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वाधीन र सार्वभौम राष्ट्र हुँदाहुँदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको बिषय भएको बताउनुभएको छ ।
समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार(२०८० मङ्सिर २३ गते) आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो– लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरीय संवादहरूमा किन उठ्दैन ? यो भन्दा गए गुज्रेको कुरा के हुन्छ ? त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ?
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभन्जाङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा शुक्रवार गोरखा पुग्नुभएका अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको हो ।
कार्यक्रममा अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति प्रकट गर्नुभयो । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आउनुभएका अध्यक्ष ओलीले व्यङ्गात्मक शैलीमा भन्नुभयो– विकासमा भइरहेको ढिलासुस्तीबारे म प्रधानमन्त्रीसँग कुरा गर्छु । हिजो उहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुँदै आएको हुँ । एकसय किलोमिटर दूरी पार गरिएहोला भनेको त १६ किलोमिटर पो रहेछ !
पूर्वाधार निर्माणको काम गर्न आवश्यक
अध्यक्ष ओलीले नेपालमा छिटोभन्दा छिटो पूर्वाधार निर्माणको काम गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले जति छिटो पूर्वाधार निर्माणको काम गर्न सक्यो त्यति नै छिटो नेपालको विकासले गति लिने बताउनुभयो । नेपाली जनताको तीब्र विकासको आकाङ्क्षा रहेको बताउँदै उहाँले भन्नुभयो– पूर्वाधार विकास जनतालाई सुविधा, असुविधाको कुरा मात्र होइन, यो विकाससँग जोडिएको छ, उन्नतिसँग जोडिएको छ, यो आधुनिकतासँग जोडिएको छ ।
नेपालका परियोजना नेपालाई फाइदा हुने गरी जुन देशले बनाउँछु भन्छन्, त्यही देशलाई दिनुपर्ने धारणा राख्दै उहाँले नेपालले फाइदा जहाँबाट पाउँछ, त्यहीबाट लिनुपर्छ भन्नुभयो ।
एउटा छिमेकीलाई परियोजना दिनैपर्ने अर्कोलाई दिनै नहुने भन्ने हुन नसक्ने अध्यक्ष ओलीको भनाइ छ । एउटा आयोजना नबनाएर अलपत्र पार्नेलाई फेरि अर्को आयोजना बनाउन दिन नहुने उहाँले प्रष्ट पार्नुभयो ।
अहिलेको अवस्थामा नेपाल सरकार आफैँले ठूला ठूला आयोजनाको काम गर्न नसक्ने विचार व्यक्त गर्दै अध्यक्ष ओलीले कर्मचारीलाई तलब खुवाउनै ऋण लिने सरकारले कर्णाली जस्ता ठूला आयोजना हामी आफैँ बनाउँछौँ भन्ने कुरा गफ मात्रै हुने बताउनुभयो ।
अध्यक्ष ओलीले बुढी गण्डकी जलविद्युत आयोजना अब बनाउनैपर्ने बताउनुभयो । मुआब्जाको रूपमा ७६ अर्ब रुपैयाँ सरकारले भुक्तानी गरिसकेकाले यो आयोजनाको काम अब रोक्न नहुने धारणा उहाँले राख्नुभयो ।
गोरखाको गोरखकाली रबर उद्योगलाई बचाउनुपर्छ भनेर नेकपा (एमाले) लागिरहेको अध्यक्ष ओलीले बताउनुभयो । तर केही तत्वले सो उद्योग चल्न नदिएको उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले राजनीतिक दलले काममा प्रतिस्पर्धा गरेर देखाउनुपर्ने बताउनुभयो । विकासको गतिलाई अघि बढाउनेलाई सबै मिलेर सरकारबाट हटाउने गरिएको उहाँको भनाइ छ ।
अहिले पनि एमाले सरकारमा आयो भने विकासको कामले गति पाउँछ भन्ने डर गठबन्धनमा रहेका दललाई भएको उहाँले बताउनुभयो ।
सर्वदलीय मागपत्र हस्तान्तरण
कार्यक्रममा अध्यक्ष ओलीलाई गोरखाका राजनीतिक दलहरूको तर्फबाट सर्वदलीय मागपत्र हस्तान्तरण गरिएको थियो ।
नेकपा (एमाले) गोरखाका अध्यक्ष प्रेमबहादुर गुरुङले जिल्लाका सबै राजनीतिक दलले छलफल गरेर तयार गरेको सङ्कल्पपत्र बुझाउनुभएको हो । नेकपा (एमाले) जिल्ला कमिटीको अगुवाइमा बसेको बैठकले साझा अवधारणपत्र बनाएको थियो ।
गोरखा जिल्ला धार्मिक, सांस्कृतिक पर्यटकीय हिसाबले गौरव गर्न लायकको जिल्ला भएको अवधारणापत्रमा उल्लेख छ । त्यसैले गोरखा जिल्लाको पर्यटन विकासमा जोड दिन राजनीतिक दलले माग गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्र रूपमा अघि बढाउनुपर्ने, पुष्पलाल मध्यपहाडी लोकमार्गको गोरखा जिल्लामा पर्ने ६३ किलोमिटरको काम गर्नुपर्ने, पालुङटारलाई स्मार्ट सिटी बनाउने काम पनि अलमलमा परेको भन्दै राजनीतिक दलहरूले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् ।
आरुघाटमा भेटघाट तथा सम्वाद कार्यक्रम
यसैगरी यात्रा क्रममा गोरखाको आरुघाटमा भेटघाट तथा सम्वाद कार्यक्रम आयोजना गरिएको छ ।