detail-img

गठबन्धन सरकारका कारण रोकिएका विकासका काम फेरि शुरू गरिने छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियानको ११औं दिन आज (२०८० मङ्सिर २४ गते) नुवाकोटमा अन्तर्क्रिया, सिन्धुपाल्चोकको बाहुनेपाटीमा स्वागत कार्यक्रम र  काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा आमसभालाई सम्बोधन गर्नुभयो । 
मण्डनदेउपुरको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार बनेपछि रोकिएका विकासका काम एमालेले फेरि शुरू गर्ने बताउनुभयो । गठबन्धन सरकार बनेपछि विकासका काम रोकिएका र जनतामा निराशा छाएको उहाँले बताउनुभयो ।


एमालेलाई राम्रो काम गरेबापत सरकारबाट हटाइएको भन्नुहुँदै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशमा निराशा र अराजकता बढेको बताउनुभयो । यसको अन्त्य नगर्ने हो भने देश बर्बाद हुने उहाँले प्रष्ट पार्नुभयो । 
देशलाई जोगाउन एउटा मजबुत राष्ट्रिय शक्ति आवश्यक रहेको  बताउँदै अध्यक्ष ओलीले एमाले राष्ट्रिय शक्ति भए पनि यसलाई थप मजबुत बनाउन आवश्यक रहेको प्रष्ट पार्नुभयो । 
नेकपा (एमाले)लाई कसैले पराजित गर्न नसक्ने बताउँदै उहाँले यो कसैले रोक्दा रोकिने पार्टी नभएको र कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन भन्नुभयो । 
यसैगरी, अध्यक्ष ओलीले सिन्धुपाल्चोकको मेलम्ची–१२ बाहुनेपाटीमा आयोजित कार्यक्रममा मेलम्चीको पानी छिटोभन्दा छिटो काठमाडौं झार्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले)को सरकार नभएको भए मेलम्ची–काठमाडौं खानेपानी आयोजना बन्दै नबन्ने बताउँदै उहाँले एमालेको सरकारले आयोजना निर्माणको काम सम्पन्न गरी काठमाडौंमा पानी झर्ने अवस्था बनाएको स्पष्ट गर्नुभयो ।


वर्तमान गठबन्धन सरकारले मेलम्चीको मुहान सफा गर्न समेत नसकेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्था हेरेर निराश नहुन मेलम्ची र सिन्धुपाल्चोकवासीलाई पनि आग्रह गर्नुभयो । देशमा नेकपा (एमाले) हुँदासम्म जनतालाई निराश हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । 
विहान नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणका काममा ढिलासुस्ती हुनु स्वभाविक भएको बताउनुभयो ।  उहाँले भन्नुभयो– एमाले सरकारमा नभएपछि विकास नहुनु, भए पनि सुस्त हुनु र काम रोकिनु स्वभाविकै हो  ।


आफ्नो नेतृत्वको सरकारको साढे तीनवर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उहाँले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएको बताउनुभयो । चीनसँगको आवागमनलाई सहज बनाउन टोखा–छहरे सुरुङमार्ग बनाउने लगायत योजना आफूहरूले अगाडि सारेको अध्यक्ष ओलीले बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरे पनि अहिलेको गठबन्धन सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको र काम अगाडि बढाउन नसकेको उहाँको भनाइ छ । एमाले नेतृत्वको सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग  निर्माणको काम जहाँ पुर्याएको थियो, गठबन्धन सरकार बनेपछि त्यहीँ कामको गति रोकिएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले यो यात्रा लोकमार्गको अवस्था हेर्न पनि हो भन्नुभयो । 
नेकपा (एमाले) नेतृत्वको सरकारले पोखरा र भैरहवामा विमानस्थल बनाए पनि अहिलेको सरकारले ती विमानस्थल चलाउन नसकेको उहाँको भनाइ छ । 
काभे्रपलाञ्चोकको मण्डनदेउपुरमा आयोजित कार्यक्रम बोल्नुहुँदै  नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभाका सदस्य गोकुल बाँस्कोटाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको नक्सा बदल्नसक्ने नेता भएको बताउनुभयो ।


देशको नक्सा बदल्न सक्ने नेताले देशको स्वरूप पनि बदल्न सक्ने विश्वास नेता बाँस्कोटाले व्यक्त गर्नुभयो । अध्यक्ष ओली ७२÷७३ बर्षको उमेरमा पनि देशको विकासका  निम्ति, जनताका समस्या बुझ्न पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रामा रहनुभएको भन्दै उहाँको नेतृत्वमा यो देश बन्ने, जिल्ला बन्ने र  सँगसँगै स्थानीय तह बन्ने विश्वास व्यक्त गर्नुभयो ।  
नेकपा (एमाले) काम गरेर देखाउने पार्टी भएको बताउँदै उहाँले भन्नुभयो– देश बनाउन एमाले चाहिन्छ, एमाले एमालेका निम्ति होइन, देशका निम्ति चाहिन्छ । सांसद बाँस्कोटाले देश र जनताको बारेमा एमाले बाहेक सोच्न सक्ने अन्य कुनै पार्टी नभएको बताउनुभयो । 
उहाँले नेकपा (एमाले) सरकारमा हुँदा शुरू भएका केही काम पूरा भएका भए पनि धेरै काम सम्पन्न गर्न बाँकी रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । 
अध्यक्ष ओलीको नेतृत्वमा सुदूरपश्चिमको झुलाघाट (बैतडी)बाट पूर्वमा पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्केको नेकपा (एमाले)को सिङ्गो नेतृत्वपङ्ती मध्यपहाडी क्षेत्रमा विकासका सम्भावना, त्यहाँका जनताका समस्या बुझ्दै र अन्तर्क्रिया गर्दै, जनताका गुनासा सुन्दै र सुझाव सङ्कलन गर्दै आज काभ्रेपलाञ्चोक आइपुगेको हो ।
यात्रा टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटीका नेताहरूको सहभागिता रहेको छ ।