मन्थली (रामेछाप) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था बदल्न जनताको साथ, सहयोग र समर्थन आवश्यक रहेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको १२औं दिन रामेछापको मन्थलीमा सोमबार (२०८० मङ्सिर २५ गते) साँझ आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अबस्था बदल्न एमालेलाई जनताको अझ बढी साथ र समर्थन चाहिएको बताउनुभयो ।
देश ओरालोमा स्टार्ट विना गुडिरहेको गाडीजस्तो अवस्थामा
अध्यक्ष ओलीले देश ओलारोमा गुडिरहेको तर स्टार्ट नभएको गाडी जस्तो अवस्थामा रहेकाले देशको दुर्घटनातर्फको यात्रालाई रोक्नुपर्ने र त्यसका लागि एमालेलाई जनताको अझ बढी साथ चाहिएको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले) सुदृढ अवस्थामा रहे पनि देशको अवस्था बदल्ने अवसरका लागि जनताको अझ बढी साथ र समर्थन चाहिने बताउनुभयो । उहाँले यात्रा क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको बताउनुभयो ।
अध्यक्ष ओलीले नागरिकले देखाएको उत्साहले एमालेको देश बनाउने सङ्कल्पमा पनि थप उत्साह ल्याएको बताउनुभयो । यो देश बनाउनपर्छ भन्ने बुझेर नै जनताले पार्टीको समृद्धिका लागि सङ्कल्प यात्रामा साथ दिएको उहाँको विश्वास भनाइ छ ।
देश विदेशका सबै शक्ति एकजुट भएर एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि नेकपा (एमाले)लाई बचाउने मात्र होइन, देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै उहाँले रामेछापमा कार्यकर्ताप्रति आभार प्रकट गर्नुभयो ।
एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक बृद्धिदर ह्वात्तै घटेको र गठबन्धन सरकारले ल्याएका हरेक बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको उहाँले बताउनुभयो ।
गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने अध्यक्ष ओलीले बताउनुभयो ।
अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको हुँदा त्यसकै लागि एमालेले यो यात्रा अभियान चलाएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्थलीमा आयोजित सन्देश सभा कार्यक्रममा अध्यक्ष ओलीसमक्ष रामेछापवासीको तर्फबाट माग पेश गर्दै नेकपा (एमाले) रामेछापका अध्यक्ष आानन्द श्रेष्ठले पुष्पलाल मध्यपहाडी लोकमार्गको नक्शामा संशोधन गरी पुष्पलालको जन्मथलो रामेछापको भँगेरी पुर्याउन आग्रह गर्नुभयो ।
उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्ग काभ्रे र रामेछापको सिमाना चौँरीखोला हुँदै गाल्पा भञ्ज्याङबाट सदरमुकाम मन्थली–पुष्पलालको जन्मथलो भँगेरी–साँघुटार हुँदै ओखलढुङ्गाको सदरमुकामबाट खोटाङ दिक्तेल जोड्नुपर्ने माग राख्नुभयो
साथै मध्यपहाडी लोकमार्गको राइट अफ वे १५ मिटर कायम गरी सडकको लागत कट्टा गर्नुपर्ने, लोकमार्ग आसपासको क्षेत्रमा कृषि, पर्यटन, उद्योग र आइटी विशेष केन्द्र निर्माण गरी रोजगारी प्रवद्र्धनका योजना बनाउनुपर्ने मागपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणले तल्लो तटीय क्षेत्रको खानेपानी, सिँचाइ तथा पर्यावरणीय क्षेत्रमा पार्ने असर र प्रभाव अध्ययन गरी यथोचित सम्बोधन गर्नुपर्ने माग गरिएको छ । जिल्लाका रणनीतिक महत्वका हरेक वडाबाट गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तथा लोकमार्गसँग जोड्ने सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने, महत्वपूर्ण पर्यटकीय स्थलहरू सैलुङ, गिद्धे, तामे, देउराली, जटापोखरी, सेर्दिङ, गुम्देल उमातीर्थ, थानापति, खाँडादेवी, त्रिवेणी, केवलेश्वर, विश्वामित्र गुफा, अग्लेश्वरी, सुनापति, नर्वदेश्वर लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पहुँच मार्गसहित संरक्षण र प्रवद्र्धनको काम गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने, एमालेको पहलमा शुरू भएका विभिन्न योजनाको काम अहिले अलपत्र परेकाले त्यसलाई उचित बजेट विनियोजन गरी सञ्चालनको पहल गर्नुपर्ने, ठोसे फलाम खानी, विभिन्न ठाउँमा रहेका तामाखानी, स्लेट ढुङ्गा खानी, खरिढुङ्गा, चुनढुङ्गा लगायतका खानी र उद्योग सञ्चालन गरी देशको समृद्धिमा योगदान गर्नुपर्ने माग गरिएको छ ।
रामेछाप नगरपालिकाको भँगेरीस्थित पुष्पलालको जन्मस्थलमा निर्माणाधीन पुष्पलाल पार्क बजेट अभावका कारण निर्माणमा ढिलाइ भइरहेकाले आवश्यक बजेट विनियोजन गरी समयमै कार्य सम्पन्न गर्नुपर्ने तथा गङ्गालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उहाँहरूको नामबाट नामाकरण गर्नुपर्ने माग पनि राखिएको छ ।
यसअघि दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभयो ।
अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताउनुभयो । गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशिर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारका सन्दर्भमा अध्यक्ष ओलीले एमालेले शुरू गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको स्पष्ट गर्नुभयो । नेकपा (एमाले) एउटा राष्ट्रिय लक्ष्य लिएर अघि बढेकाले त्यसमा बालकदेखि बृद्धसम्मको सहभागिता रहेको भनाइ उहाँले राख्नुभयो ।
अर्का(विदेशी)को दरबार देखेर देश बन्दैन
आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्था रहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले विभिन्न उद्यमशीलताको विकास गरी विभिन्न व्यवसाय सञ्चालन गरेर विदेश पलायन हुनबाट रोक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले युवालाई विदेशमा अर्काको दरबार देखेर आफ्नो देश नबन्ने भन्नुहँुदै स्वदेशमै रहेर देश निर्माणको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक पार्टीहरूले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन ।
२०७४ सालको निर्वाचनपछि जनताको अभिमतबाट आफ्नो नेतृत्वमा गठन भएको सरकारले देशमा विकासको अभियान चलाएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यस्तो अवस्थामा पार्टीभित्रैबाट विखण्डनकारीहरूले पार्टी फुटाई विदेशीका सामु लम्पसार परी कम्फरटेबल सरकार बनाएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीलाई अदालतले नभई विखण्डनकारीले फुटाएको उहाँले स्पष्ट गर्नुभयो ।
विखण्डनकारीको पक्षमा नलाग्न आग्रह
उहाँले कम्युनिष्ट कार्यकर्ताहरूलाई विखण्डनकारीको पक्षमा नलाग्न आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको र यस अवस्थाबाट देशलाई फर्काउनुपर्ने भएकाले पार्टीले समृद्धिका लागि सङ्कल्प अभियान चलाएको प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुङ्गिएको बताउनुभयो । आफूले सरकारमा रहेको समयमा शान्ति प्रक्रिया टुङ्याउन चाहेको तर प्रचण्ड र देउवाले टुङ्गाउन नदिएको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुङ्ग्याउने सन्दर्भमा नेकपा (एमाले) पीडितको न्यायको पक्षमा रहेको बताउनुभयो ।
यस्तै, सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिन्धुपाल्चोकलाई विपत् क्षेत्र घोषणा गरी काम गरेको स्मरण गर्दै एमालेको सरकार नभएको भए मेलम्चीलाई व्यवस्थापन गरी काठमाडौंमा खानेपानी नै झर्ने थिएन भन्नुभयो । अध्यक्ष ओलीले दोलालघाटमा पनि सङ्क्षिप्त सम्बोधन गर्नुभएको थियो ।