काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरूले उत्कृष्ट क्षमता प्रदर्शन गर्ने क्रम बढेको बताउँदै त्यसप्रति खुसी ब्यक्त गर्नुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उक्त एकेडेमीका संरक्षक समेत रहेका ओलीले नेपालका खेल गतिविधिहरूलाई अझ अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन जरूरी भएको बताउनुभयो ।
बहुआयामिक उद्देश्य बोकेको एकेडेमीले उल्लेख्य गतिविधिहरू गरिरहेको चर्चा गर्दै उहाँले थप सफलता चुम्न र प्रगति गर्न शुभकामना दिनुभयो । सो अवसरमा उहाँले एकेडेमीको डकुमेन्ट्री सार्वजनिक गर्नुभएको थियो ।
कर्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीहरूको ठूलो भूमिका हुने बताउनुभयो । उपाध्यक्ष पौडेलले एकेडेमीले खेलाडीहरू उत्पादन र क्षमता बिस्तार गर्न ठूलो भूमिका खेलेको बताउनुभयो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकेडेमी र खेल क्षेत्रको बिकासमा योगदान पुर्याउनुभएका बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो ।