detail-img

लोकतान्त्रिक गणतन्त्र, सुशासन र विकासका प्रश्नमा दलहरूबीच एकता आवश्यकः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनुपर्ने बताउनुभएको छ । 
सोमबार नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको बीचमा एकता र अन्य कुरामा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । 
लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकास लगायतका प्रश्नमा राजनीतिक एकता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति र अहिलेको शासन सञ्चालन प्रक्रियाप्रति सन्तुष्ट देखिएको कांग्रेसलाई भड्काउने आफ्नो कुनै उद्देश्य नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अहिलेको स्थिति, परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन, त्यस कारण म त्यतापट्टि विल्कुलै जान चाहन्न, अमनचयनमा खलल् पार्न चाहन्न । उहाँले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई हेर्दाहेर्दै समय नघर्कियोस् भनी सचेत गराउनुभयो । 
अध्यक्ष ओलीले मन्त्री भिडमा गएर (बालकुमारी घटना) मानिसलाई उत्तेजित बनाउने र गोली चलाएर, बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेकामा आपत्ति प्रकट गर्नुभयो ।  
सरकारको कारण देशमा घटना भइरहेको अवस्थामा पनि कतिपय मानिसहरू एमाले के गर्दै छ भनेर एमालेमाथि नै खनिएको भनाइ उहाँले राख्नुभयो ।  
अध्यक्ष ओलीले अब नेपालमा राजतन्त्रको बहस आवश्यक नरहेको बताउनुभयो । राजतन्त्र समाप्त भइसकेकाले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नरहेको उहाँले प्रष्ट पार्नुभयो । राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उहाँले बताउनुभयो । काम गरे पनि नगरे पनि उस्तै देख्ने दृष्टिकोण बदल्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । काम गर्ने र नगर्नेलाई एउटै डालामा राखेर हेर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । 
नेपालीका पुर्खाले तोपसँग खुकुरी जुधाएर देश जोगाएको स्मरण गराउँदै अध्यक्ष ओलीले अहिले आँखा जुधाए कुरा गर्न समेत नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । भारत नेपालको असल मित्र भएकाले आफूलाई अप्ठेरो परेको कुरा प्रष्ट रूपमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ? । 
उहाँले राष्ट्रहितका विषयमा आफ्नो अनुकूलको कुरा होइन हरेक अवस्थामा एउटै कुरा गर्न आग्रह गर्नुभयो । यस्ता कुरामा मेलमिलाप गरेर अघि बढ्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । उहाँले मेलमिलाप दिवसले यथार्थमा मेलमिलाप गरेर अघि बढ्न प्रेरणा दिन सकोस् भन्नुभयो ।