detail-img

एमालेले देशमा सामाजिक सुरक्षाको बलियो जग निर्माण गर्योः महासचिव पोखरेल 

काठमाडौंं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणाली विकास गरेको बताउनुभएको छ । 
राष्ट्रिय अपाङ्गता संगठन नेपालको १६औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नागरिकको सहज जीवनका लागि स्वतन्त्रताले मात्र पुग्दैन भने राज्यले संरक्षण गर्नुपर्छ भन्ने मान्यताका आधारमा एमालेले सो प्रणाली विकास गरेको बताउनुभयो । 
जसले राज्यको लागि योगदान गर्न सक्छ, उसले राज्यलाई योगदान गर्नुपर्ने र नसक्नेलाई राज्यले संरक्षण गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।


महासचिव पोखरेलले भन्नुभयो– बालबालिकालाई, ज्येष्ठ नागरिकलाई, एकल महिलालाई, अल्पसङ्ख्यकलाई, अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्नु पर्दछ भन्ने मान्यताका साथ त्यसको व्यवस्थाका लागि नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) हो । 
सामाजिक सुरक्षाको अवधारणा मूलतः विकसित मुलुकको अवधारणा भएको तर तेस्रो विश्वमा सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम नेपालमा नेकपा (एमाले)को सरकारले गरेको उहाँले बताउनुभयो ।   
अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रमाणीकरण गरी सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जोड्ने कार्य त्यसैको परिणाम भएको बताउँदै महासचिव पोखरेलले त्यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको प्रष्ट पार्नुभयो । 
सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउनको लागि राज्य बलियो हुनुपर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले  कमजोर राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउन र स्रोत वृद्धि गर्न नसक्ने बताउनुभयो । 
अहिले गठबन्धन सरकारले सामाजिक सुरक्षाको दायरालाई साँघुरो बनाउने र स्रोत घटाउने काम गरिरहेको भन्दै  सरकारले दिइरहेको सुविधालाई पनि बोझ ठानेको र यो प्रवृत्ति सामाजिक न्यायका हिसाबले अत्यन्त घातक भएको बताउनुभयो । 
नेकपा (एमाले) सरकारमा हुँदा हरेक क्षेत्रमा केही न केही सकारात्मक परिवर्तन ल्याएको र एमाले सरकारको पालमा गर्व गर्नै काम भएको उहाँको भनाइ छ । नेपालको हितको पक्षमा छिमेकी मुलुकसँग पनि पारवहन सन्धिदेखि धेरै काम भएको र   पूर्वाधारको क्षेत्रमा छलाङ नै मार्ने काम भएको उदाहरण महासचिव पोखरेलले प्रस्तुत गर्नुभयो । 
नेकपा (एमाले) अहिले जनताको रोजाइको पहिलो पार्टी भए पनि मुलुकको आवश्यकताको हिसाबले एमालेको सामथ्र्य अझै कमजोर रहेको उहाँले बताउनुभयो । त्यसैले देशलाई, स्थिरता र बहुमतको सरकार दिन नेकपा (एमाले)ले मिसन–२०८४ भनेको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता र महासचिव जगदीश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य रचना खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।