काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्य र गन्तव्यका साथ अगाडि बढिरहेकाले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) प्रदेश पदाधिकारीहरूको राष्ट्रिय भेलालाई आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको स्पष्ट गर्नुभयो ।
देशको भूमिको रक्षा, राष्ट्रियता, स्वाधीनता र राजनीतिक उपलब्धिहरूको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहे पनि गठबन्धनले त्यसलाई कमजोर बनाउँदै र धरापमा पार्दै लगिरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा जानका लागि हिरिक्क नगरेको र नगर्ने बताउँदै देशको रक्षा, राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्नुपर्ने हुँदा मिसन–२०८४ भनिरहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– अहिलेको गठबन्धनले विदेशीसँग मिलेर सरकारमा पुग्ने, उनीहरूकै आशिर्वाद र सहयोगमा सत्ता टिकाइरहने धार पक्रेको हुँदा देशका उपरोक्त मुख्य अभिभारा पूरा गर्न सक्दैन ।
‘नेपालमा अहिले बर्ग सङ्घर्ष नयाँ ढङ्गले निकै तिब्रताका साथ चलिरहेको छ, हामीहरू क्रान्तिकारी सङ्क्रमणको बाटोमा छौँ’ भन्नुहुँदै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरू बल प्राप्तिका लागि गठजोड गरिरहेको भनाइ राख्नुभयो ।
उहाँले प्रदेश कमिटीका पदाधिकारीहरूको राष्ट्रिय भेलाबाट पार्टीलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) एक्ला एक्लै हिसाव गर्दा सबैभन्दा बलियो पार्टी रहेको भए पनि २०८४ को निर्वाचनसम्म पुग्दा प्रतिक्रियावादी गठजोड बन्दा पनि बलियो र सुदृढ शक्तिका रूपमा स्थापित हुनुपर्ने बताउँदै उहाँले प्रदेश पदाधिकारीहरूलाई त्यस दिशामा केन्द्रित भएर अत्यन्त सक्रिय र एकताबद्ध ढङ्गले कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।
मिसन– २०८४ सफल हुने आधारहरू रहेको र प्रदेश कमिटीहरूको कामबाटै सफलता मिल्ने बताउँदै अध्यक्ष ओलीले प्रदेश अन्तर्गतका वैचारिक, सांगठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले नेकपा (एमाले)ले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण र कामको जिम्मेबारी बाँडफाँटका क्रममा तँछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिने/दिने संस्कार बसाल्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला कमिटीहरूका अधिवेशनका सन्दर्भमा पार्टी केन्द्रले तयार गरेको परिपत्रका बारेमा जानकारी गराउनुका साथै भर्खर सम्पन्न समृद्धिका लागि सङ्कल्प यात्राको प्रभाव र सन्देशका सम्बन्धमा धारणा राख्नुभएको थियो । महासचिव पोखरेलले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध र जनतामा पार्टीलाई स्थापित गर्ने काम गरेको बताउँदै यो यात्रा एमालेले सञ्चालन गरे पनि यसले सिङ्गो राष्ट्रको सङ्कल्प यात्राको रूप लिएको विचार व्यक्त गर्नुभयो ।
उहाँले यात्रा सबै खालका अतिवादलाई निस्तेज पार्ने दिशामा उपलब्धिमूलक रहेको बताउँदै यात्राका उपलब्धिहरूलाई प्रदेश कमिटीहरूले संगठनात्मक जीवनमा ढाल्न सक्नुपर्छ भन्नुभयो । महासचिव पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई बार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले पार्टीका जिल्ला अधिवेशनहरू केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको सदस्यता सङ्ख्याका आधारमा गर्नुपर्ने, बताउनुहुँदै अधिवेशनमा युवा तथा महिला सहभागिता र प्रतिनिधि छनोट लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । पार्टी उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको उपस्थिति रहेको भेलामा भूगोलका सात प्रदेश र गैरभौगोलिक क्षेत्रका दुई विशेष प्रदेश गरी नौ प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवहरूको सहभागिता रहेको थियो ।