detail-img

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको असाधारण योगदान छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताउनुभएको छ । 
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठूलो योगदान गरेको बताउनुभयो ।
नेपालको राजनीतिक आन्दोलन अहिलेको अवस्थामा ल्याउन गरिएका आन्दोलनमा महिलाको असाधारण योगदान रहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले)लाई आजको अवस्थामा पुर्याउन पनि महिलाको सबैभन्दा महत्वपूर्ण योगदान रहेको प्रष्ट पार्नुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो– अनेमसंघ हिजोको जस्तो नभएर आज महिलालाई सचेत गराउने र महिला आन्दोलनलाई संगठित ढङ्गले अगाडि बढाउने संगठित संस्थाको रूपमा रहेको छ । 
पार्टीमा विभिन्न समयमा आएका सङ्कटमा महिलाको भूमिका सबैभन्दा प्रभाकारी रहेको उहाँले बताउनुभयो । एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भनेर केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अनेमसंघको असाधारण भूमिका रहेको बताउनुभयो । 
अनेमसंघ गठन हुनुअघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो । २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको र त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले अनेमसंघलाई तल्लो तहसम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन निर्देशन दिनुभयो ।  
पार्टी स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिनुभयो । 
नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिनाभित्र पार्टीका सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमा रहेकाले अनेमसंघले जिल्लामा आफ्नो नेतृत्व स्थापित गर्न सक्नुपर्ने बताउनुभयो । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उहाँको भनाइ थियो । अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी तीन महिना संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ ।