detail-img

वर्तमान गठबन्धन सरकार इतिहासकै कमजोर र अकर्मण्यः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारको अकर्मण्यताको विरोधमा पार्टी जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । 
आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार इतिहासकै नालायक र कमजोर सावित भएको बताउनुभयो । 
‘वर्तमान गठबन्धन सरकार यति धेरै कमजोर भइसकेको छ कि यसका कमजोरीको चर्चा गरी साध्य छैन’, भन्दै महासचिव पोखरेलले सरकारको विकास विरोधी क्रियाकलाप, अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको र व्यवसायीहरू लगानी गर्न तयार नरहेको स्पष्ट पार्नुभयो । 
सरकारको विकास विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको र यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– अब सडक आन्दोलनमा जानुपर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताका विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ ।


उहाँले अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको तथा युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको बताउनुभयो । 
रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धेरै युवा बिदेसिँदा देश बनाउन युवाको अभाव झेल्नुपर्ने स्थिति उत्पन्न भएको महासचिव पोखरेलको निष्कर्ष छ । 
महासचिव पोखरेलले भन्नुभयो– यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ, त्यस कामलाई बदल्नुपर्छ, नागरिकमा नयाँ आशा जागृत गराउनुपर्छ । नेपालीले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नका लागि, भविष्यलाई सुरक्षित गर्नका लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्प गर्नेतर्फ अगाडि बढ्नुपर्छ ।
नेपाललाई स्थिरता र विकासतर्फ लैजान, देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।  
नेकपा (एमाले) यी काम गर्न सक्ने पार्टी भएको भन्दै एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने एमालेको मान्यता रहेको बताउँदै महासचिव पोखरेलले त्यसै कारण एमाले सरकार गठन र विघटन जस्तो  अस्थिरताको खेलमा सामेल हुन चाहँदैन भन्नुभयो । 
अहिले नेपाललाई भू–राजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा विकास गर्ने जोखिम बढ्दै गएको भन्दै महासचिव पोखरेलले भारत र चीनलाई मिल्न नदिने र त्यसका लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– एसियालाई विश्व अर्थतन्त्रका रूपमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका छन् । विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र त्यसको लाभ लिने योजना अनुसार लागेका छन् । 
नेपालमा अस्थिरता चाहनेहरू नै यहाँ बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिने षडयन्त्रमा लागिरहेको र त्यस खालका क्रियाकलाप पछिल्लो समय बढेर गएको विश्लेषण महासचिव पोखरेलले सुनाउनुभयो ।
उहाँले बर्तमान गठबन्धन सरकार विकास निर्माणका हिसाबले नेपालको इतिहासमा सबैभन्दा अयोग्य भएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– निर्माण व्यवसायीले गरेको कामको पैसा समेत नपाउने स्थिति रहेको छ । सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको समयमा नेपालका कम लागतमा बन्ने विद्युत आयोजनाहरू भारतलाई उपहार दिएर आउनुभएको बताउनुभयो । नेपालीकै लागतमा बनाउनु पर्ने विद्युत आयोजना भारतलाई दिएर प्रधानमन्त्रीले राष्ट्रघाती काम गर्नुभएको उहाँको भनाइ छ । 
यस्तै, भारतीय दूतावासले नै २० करोड रूपियाँसम्मका योजना सञ्चालन गर्ने सम्झौता अर्को राष्ट्र विरोधी सम्झौता भएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
देशमा नै बिजुली नपुगेको र पुगेको ठाउँमा पनि जुनकिरी जस्तो बिजुली पुगेको देशले १० हजार मेघाबाट बिजुली भारतलाई बेच्ने सम्झौता गरेकोमा हर्षबढाइँ गर्नुको कुनै अर्थ नभएको उहाँको भनाइ छ । नेपालको विकासको लागि देशभित्रै बिजुलीको खपत बढाउनुपर्ने धारणा उहाँको राख्नुभयो । 
यतिबेला जातीय अतिवाद बढाउने र राजनीतिक अस्थिरता कायम गर्ने काम सरकार आफैले गरिरहेको र कोशी प्रदेश नामाकरणको विषयमा पनि सरकारले नै कोशी प्रदेशमा हिंसा बढाउने काम गरिरहेको महासचिव पोखरेलले बताउनुभयो । 
नेकपा (एमाले)ले पुष्पलाल मध्यपहाडी  लोकमार्गमा सम्पन्न गरेको  समृद्धिका लागि सङ्कल्प यात्राले जातीय अतिवादलाई चिर्ने काम गरेको, एमालेले मात्र राष्ट्रलाई एउटै मालामा गाँस्न सक्छ भन्ने सन्देश दिएको र निरास नागरिकमा आशा जगाउने काम गरेको उहाँले बताउनुभयो ।