detail-img

केन्द्रीय सल्लाहकार परिषद्को पुरक बैठक पोखरामा सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को पुरक बैठक हालै पोखरामा सम्पन्न भएको छ । 
केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बसेको बैठकमा देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिका बारेमा घनीभूत छलफल भएको थियो । बैठकमा युवाहरूको विदेश पलायनबाट देश बृद्धाश्रमजस्तो हुन लागेको, सरकारले रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ पटक्कै ध्यान नदिएको, सरकारको रबैया अनुत्तरदायी, गैरजिम्मेवार र दमनकारी भएको ठहर गर्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको थियो । 
बैठकमा अधिकांश सदस्यहरूले देशको परिस्थितिका बारेमा चिन्ता व्यक्त गर्दै पार्टीले सडकदेखि सदनसम्म आवाज बुलन्द गर्नुपर्ने सुझाव राख्नुभएको थियो । 
बैठकमा पार्टीका सबै तहका संगठनहरूमा पद्धति, प्रणाली कमजोर बन्दै गएको विषयमा बस्तुनिष्ट मूल्याङ्कन र समीक्षा गरी संगठनलाई राजनीतिक र वैचारिक रूपमा सुदृढ बनाउनुपर्ने, विभिन्न तह र तप्काबाट आएका आलोचना र सुझावका आधारमा कार्यशैलीमा सुधार ल्याउनुपर्ने र पार्टीलाई आधारभूत बर्गबाट टाढा बनाउन नहुने विषयमा सदस्यहरूले जोड दिनुभएको सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले बताउनुभयो । 
बैठकलाई सम्बोधन गर्दै सल्लाहकार परिषद्का अध्यक्ष बोहराले सदस्यहरूले राख्नुभएका सुझावहरू पार्टीको सम्बन्धित निकायमा पुर्याउने कुरामा आश्वस्त पार्नुभएको थियो । 
अध्यक्ष बोहराले परिषद् पार्टीका पुराना, पाका, अनुभवी र जुझारू योद्धाहरूको संस्था भएको हुँदा यसका सदस्यहरूले पार्टीमा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । 
अहिले पार्टीमा मार्क्सवादी साहित्य र पार्टीका दस्तावेजहरू अध्ययन गर्ने र आफ्ना दृष्टिकोण बनाउने सँस्कृति हराउँदै गएकोतर्फ ध्यानाकर्षित गर्दै बोहराले सल्लाहकार परिषद्का सदस्यहरू सबैले आफूलाई मार्क्सवादी विद्यार्थीको रूपमा व्यवहार गर्न आग्रह गर्नुभएको थियो । 
उहाँले मार्क्सवादका आधारभूत कुराहरूतर्फ ध्यानाकर्ष गराउँदै भन्नुभयो– सर्वप्रथम माक्र्सवादी बनौं । स्वार्थी अवसरवादी कहिल्यै नबनौं । हरेक तहको कमिटीमा खुल्ला र खुलस्त बनौं । आफ्नै साथीहरू विरुद्ध गोप्य षडयन्त्र र जालझेल नगरौं । जे जस्ता कुरा भए पनि कमिटीमा राख्ने हिम्मत गरौं । पार्टीले अवलम्बन गरेको सभ्य र सुन्दर समाजवादी लक्ष्यमा पुग्न एकताबद्ध बनौं । सानातिना मतभेदका नाममा कहिल्यै नफुटौं । 
बैठकमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो ।