detail-img

अध्यक्ष ओलीद्वारा आन्दोलनका लागि तयारीमा रहन निर्देशन 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार देशका लागि अत्यन्त हानिकारक भएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले देशमा भ्रष्टाचारी बंशको निकम्मा गठबन्धन सरकार रहेका कारण मुलुक अफ्ठ्यारो स्थितिमा पुगेको बताउँदै देशलाई जोगाउन कुनै पनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ भन्नुभयो । 
नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले छोटो तयारीमा पनि आन्दोलनमा जानुपर्ने हुनसक्छ, त्यसका लागि मानसिक रूपमा तयारीमा रहनु होला भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– नेपाल देश छ र हामी छौँ, देशलाई जोगाउन हामी हरेक मूल्यमा तयार हुनुपर्छ ।


उहाँले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताउनुभएको छ । अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै जानु हो भन्नुभयो । 
उहाँले भन्नुभयो– अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन नपराउने, मनलाग्दी गर्न मन पराउने । 
आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने तथा आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन । 
आफैलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको उहाँले बताउनुभयो । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाएर राख्न नसक्ने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । 
आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको हुँदा खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सर्वत्र चाहिन्छ । उहाँले अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले एमालेका जनसंगठनको राजनीतिकसँगै सामाजिक जिम्मेवारी पनि त्यतिकै भएको प्रष्ट पार्नुभयो । उहाँले नेपाल खेलकुद महासंघका सदस्यहरूले पार्टीको आह्वानमा जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । अध्यक्ष ओलीले जाजरकोटमा भूकम्प पीडितको सहयोगका लागि स्वयंसेवामा खटिनुभएका महासंघका सदस्यहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । 
अध्यक्ष ओलीले खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उहाँहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकाले त्यस कुरामा उहाँहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले खेलकुद खेलाडीको मात्र विषय नभएको र हरेक मानिस स्वस्थ रहन कुनै न कुनै खेल खेल्नुपर्ने बताउनुभयो । 

२०८१ साल पार्टीका लागि शुद्धीकरण र सुदृढीकरण बर्ष
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८१ साल पार्टीका लागि शुद्धीकरण र सुदृढीकरण बर्ष हुने बताउनुभएको छ । 
महासचिव पोखरेलले नेकपा एकीकरणको समयमा पार्टी गम्भीर खालको संगठनात्मक अराजकतामा प्रवेश गरेको र पार्टी विभाजनपछि पनि त्यसका अवशेषहरू बाँकी रहेकाले शुद्धीकरण तथा सुदृढीकरण आवश्यक रहेको स्पष्ट गर्नुभयो । 
त्यसबेला पार्टीभित्र संगठनात्मक उदारता देखाउँदा मानिस औसरवादी भएको, आर्थिक अनुशासन कमजोर भएको, संगठनात्क पद्धति हराउन थालेको भन्दै महासचिव पोखरेलले पार्टीलाई सशक्त बनाएरमात्र राष्ट्रिय राजनीतिका चुनौती सामना गर्न सकिने बताउनुभयो । 
महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आज नेपालको राजनीतिको गम्भीर चुनौतीका रूपमा देखापरिरहेको बताउनुभयो । 
उहाँले अहिले समाजमा देखिएको निराशा र अराजकताले युवा विदेश पलायनलाई प्रबद्र्धन गरिरहेको बताउँदै देशको काम गर्ने युवा जनशक्तिलाई आफ्नो ठाउँमा बस्ने अवस्था निर्माण गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो– काम गर्ने उमेर समूहका युवा विदेश पलायन हुन्छन् भने देश कसरी बन्छ ?
महासचिव पोखरेलले खेलकूद महासंघको अभिभारा र भूमिकाका सम्बन्धमा चर्चा गर्दै महासंघमा खेलाडीहरूलाई गोलबन्द गर्न र खेल क्षेत्रको विकासमा काम गर्न निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले २०८४ सालको निर्वाचनमा एमालेको एकल बहुमत ल्याउने लक्ष्यका साथ पार्टीले मिसन–२०८४ भनिरहेको स्पष्ट गर्दै खेल क्षेत्रबाट पनि बहुमत मानिसको समर्थन प्राप्त गर्ने दिशामा महासंघले काम गर्नुपर्ने बताउनुभयो । 
उहाँले महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विचार, सिद्धान्त र राजनीतिक प्रश्नमा नियमित रूपमा आफूलाई अध्यावधिक गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेलकूद महासंघ लगायत पार्टीका जनसंगठनहरूमा संगठनात्मक अराजकता देखिएका छन् भने त्यसमा विजय हासिल गर्नैपर्छ भन्नुभयो । 
बैठकमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र स्थायी कमिटी सदस्य तथा खेलकूद महासंघका इन्चार्ज कर्ण थापाको अतिथिका रूपमा उपस्थिति रहेको थियो । 
बैठकमा महासंघको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई महासंघका अध्यक्ष पर्शुराम बस्नेतले शपथ ग्रहण गराउनुभएको थियो । बैठक भोलिसम्म चल्ने छ ।