detail-img

नेसपाका केन्द्रीय सदस्य पराजुलीसहित विभिन्न पार्टीका ४० भन्दा बढी नेताकार्यकर्ता एमालेमा 

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य दिवसबाबु खड्का लगायत ती पार्टीका गोरखाका चालिस जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरूलाई महासचिव शंकर पोखरेलले खादा र अबीर लगाई पार्टीमा स्वागत गर्नुभयो । 
एमालेमा प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य मनोहर ढकाल, वासु भट्ट, प्रदेश कमिटी सदस्य तथा गोरखा नगरपालिका कमिटीका इन्चार्ज उपेन्द्र देवकोटा, नेपाल समाजवादी पार्टी सम्वद्ध युवा संघका केन्द्रीय सदस्य गणेश अधिकारी लगायत हुनुहुन्छ । 
त्यसैगरी नेपाली कांग्रेसका क्रियाशील सदस्य महेन्द्र प्रकाश शिवाकोटी पनि एमालेमा प्रवेश गर्नुभएको छ ।  
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अब नेताहरूका टाउका जोडेर होइन, कार्यकर्ताको मन जोड्नुपर्छ भन्ने पार्टीको मान्यता अनुरूपको काम आज गरिएको बताउनुभयो ।


महासचिव पोखरेलले नेताहरूका टाउका जोडेर गरिएको नेकपा निर्माणको सदासयता प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको अवसरवादी चरित्रका कारण दुर्घटनामा परेको बताउँदै फेरि पनि नेताका टाउका जोडेर एकता गरे राष्ट्रिय समर्थन प्राप्त गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको स्पष्ट गर्नुभयो । 
नवप्रवेशीहरूको एमाले प्रवेशलाई उहाँहरूले गरेको उपयुक्त बाटोको पहिचानको संज्ञा दिँदै महासचिव पोखरेलले नवप्रवेशीहरूको विगतको योगदानलाई पार्टीमा जोडिने र उपयुक्त जिम्मेवारी पार्टीले दिने विश्वास दिलाउनुभयो । 
उहाँले नबप्रवेशीहरूलाई पार्टी कमिटीमा उपयुक्त जिम्मेवारी दिन गोरखा जिल्ला कमिटीलाई निर्देशन समेत दिनुभयो । 
नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका अध्यक्ष प्रेम गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत, बाग्मती प्रदेश सभा सदस्य डा.दिनेशचन्द्र देवकोटा, नबप्रवेशीहरू राजेन्द्र पराजुली, दिवसबाबु खड्का र मनोहर ढकालले पनि बोल्नुभएको थियो । 
नवप्रवेशी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य पराजुलीले अब नेकपा (एमाले)मा रहेर गोरखाको काँचुली फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
त्यसैगरी माओवादी केन्द्रका पूर्व प्रदेश सभा सदस्य खड्काले माओवादी केन्द्र मार्क्सवादी दर्शन बमोजिम जनताका समस्या समाधान गर्न नसक्ने हिसावले स्खलित भइसकेको र सबै दृष्टिकोणले उपयुक्त पार्टी एमाले हो भन्ने निष्कर्षका साथ पार्टी प्रवेश गरेको बताउनुभयो ।