कपिलवस्तु । नेकपा (एमाले) कपिलबस्तु जिल्ला कमिटीले पार्टीको केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला नेताहरूका लागि तीनदिने प्रशिक्षण सञ्चालन गरेको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गोरुसिंगेमा आयोजित तीन दिने (२०८० माघ ५ देखि ७ गतेसम्म ) प्रशिक्षणमा जिल्ला कमिटीका सचिवालय सदस्यहरूको सहभागिता रहेको छ ।
नेकपा (एमाले)का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले शुक्रबार प्रशिक्षणको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीका नेता कार्यकर्तालाई नबिनतम ज्ञान प्रविधि सञ्चालन गर्ने सिप र प्रस्तुतीकरणको एकरुपता ल्याउन एमालेले ७७ वटै जिल्लामा प्रशिक्षण चलाएको बताउनुभयो ।
अर्को वर्षदेखि पार्टीका सबै नेताकार्यकर्तालाई प्रशिक्षण अनिवार्य गरिने जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले वडा सदस्यदेखि, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तिको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताउनुभयो ।
उहाँले पछिल्ला दिनमा पार्टीले नेता कार्यकतालाई आधारभूत तह, माध्यमिक तह र अनुसन्धानात्मक तहको प्रशिक्षण दिइरहेको प्रस्ट पार्नुभयो ।
उपमहासचिव ज्ञवालीले अहिलेको सरकार ‘मल्टीपल अर्गान फेलियर’को अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो– राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ । अर्थतन्त्र लथालिंङ छ । हरेक गृहिणीलाई थाहा छैन भान्सामा कति पकाउन सकिन्छ? हरेक युवालाई थाहा हिजो रेष्टुरेन्टमा गएर कति खर्च गर्न सकिन्थ्यो ? आज कति खर्च गर्न सकिन्छ भन्ने चिन्ता छ । गाडी चढ्नेलाई फुल टयाङ्क गर्न गाह्रो छ । उद्योग व्यवसाय आधा पनि चलेका छैनन् । देश लथालिंङ भएको छ ।
कार्यक्रममा पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले देशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरू वृजेश कुमार गुप्ता, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, सुशील श्रीवात्सव, सराज अहमद फारुकी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रम नेकपा (एमाले) जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको थियो । अध्यक्ष शर्माले प्रशिक्षणपछि कार्यकर्तामा नयाँ उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा मुख्य गरी मार्क्सवादी दर्शन र सामाजिक रुपान्तरण, राजनीतिक अर्थशास्त्र, जनताको बहुदलीय जनवाद र दशौं राष्ट्रि«य महाधिवेशनको कार्यदिशा, विकास सम्बन्धी पार्टी दृष्टिकोण र कपिलवस्तुको पार्टी र जनप्रतिनिधि बीच सम्बन्धका वारेमा छलफल हुने छ ।आर्थिक अनुशासन र लेखा ब्यवस्थापन, कपिलवस्तुको कम्युनिष्ट आन्दोलन, दलहरूको तुलनात्मक अध्ययन, संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, पार्टी र जनसंगठन बीचको अन्तर सम्बन्ध, प्रशिक्षण व्यवस्थापन, प्रस्तुती, सीप र शैली, विज्ञान, प्रविधि, सूचना सञ्चार, कपिलवस्तु संगठनको अवस्था र भावी प्रशिक्षणको योजना प्रशिक्षणका प्रमुख विषयवस्तुका रूपमा तय गरिएको पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताउनुभयो ।
प्रशिक्षण उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरू बलराम अधिकारी, गिरधारीलाल न्यौपाने, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, जिल्ला अध्यक्ष डम्मर शर्मा, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्य वाई पी आचार्य, विज्ञ बद्री खनाल लगायतले दिनुहुने छ ।