पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेसलाई साथ लिएर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने संस्थापक महासचिव पुष्पलाललाई गद्दार भन्ने मोहन विक्रम सिंह अहिले श्रीमतिलाई राष्ट्रिय सभामा पुर्याउन कांग्रेसको दलाली गर्ने अवस्थामा ।
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनका सबै घटकहरू यतिवेला पुँजीवादका सहयोगी भइरहेको बताउनुभएको छ ।
पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेसलाई साथ लिएर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने संस्थापक महासचिव पुष्पलाललाई गद्दार भन्ने मोहन विक्रम सिंह अहिले श्रीमतिलाई राष्ट्रिय सभामा पुर्याउन कांग्रेसको दलाली गर्ने अवस्थामा पुगेको बताउनुभयो । महासचिव पोखरेलले समाजवाद लक्ष्य हो भन्ने कम्युनिष्टहरू पुँजीवादको विरुद्धमा जानुपर्नेमा पुँजीवाद र यथास्थितिवादीको दलाली गर्दै राजनीतिक इतिहास पतनको बाटोमा रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सशस्त्र आन्दोलनको समयमा माओवादीका कार्यकर्ताहरू समाज परिवर्तनको समर्पणभावका साथ सङ्घर्षमा लागे पनि माओवादी नेताहरूको भने त्यसबेलै दरबारसँग हिमचिम रहेको सुनाउनुभयो । महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार नेपालको इतिहासमा सबैभन्दा कमजोर र निरिह सरकार भएको बताउनुभयो । उहाँले अहिलेजस्तो राष्ट्रियता कमजोर कहिले भएको थिएन भन्नुभयो ।
गोरखामा क्रियाशील माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका नेताकार्यकर्तालाई पार्टीमा प्रवेश र स्वागतका लागि माघ ५ गते शुक्रबार आयोजित कार्यक्रममा महासचिव पोखरेले पृथ्वीनाराणण शाहको गौरवमय इतिहास बोकेको गोरखाबाट निर्वाचित हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सार्वभौमसत्ता कमजोर बनाएर गोर्खालीहरूको अपमान गरेको, गोर्खालीहरूलाई लज्जित बनाएको बताउनुभयो ।
देशमै विद्युत खपत बृद्धि गरी पेट्रोलियम पदार्थको प्रयोगमा कमी ल्याउने र व्यापारघाटा कम गर्नुपर्नेमा उत्पादन नै नभइसकेको विद्युत भारतलाई बेच्ने सम्झौता गरेर सरकारले गलत काम गरेको र जनतामा भ्रम सिर्जना गरिरहेको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले भारतका विदेशमन्त्री एस जयशङ्करको हालै भएको नेपाल भ्रमणका समयमा भारतले नेपालमा २० करोड रूपियाँसम्म सिधै खर्च गर्नसक्ने सम्झौता गरेर सरकारले आफ्नो कार्यकारी अधिकार अरूलाई सुम्पने नालायकी काम गरेको बताउँदै महासचिव पोखरेलले प्रश्न गर्नुभयो – कुनै एउटा पालिकामा २० करोड रूपियाँको आयोजना सञ्चालन हुन्छ भने त्यो पालिका र त्यहाँका जनताले नेपाल सरकारलाई खोज्छन् कि दूतावासलाई ?
वर्तमान गठबन्धन सरकार सबैभन्दा भ्रष्ट, अयोग्य, राष्ट्रियताका सन्दर्भमा अत्यन्त कमजोर र जनता निराश बनाउने सरकार भएको चर्चा गर्दै महासचिव पोखरेलले राष्ट्र जोगाउन र सरकारका सबैखालका बेथिति विरुद्धमा सशक्त रूपमा जनतामा जानुपर्ने अवस्था बनिरहेको बताउनुभयो ।
नेपाली कांग्रेसबाट विकास, समृद्धि, समाजको प्रगतिशील रूपान्तरण र समाजवाद अपेक्षा गर्न सकिँदैन भन्दै नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरेरमा देशको विकास र समृद्धि सम्भव हुने धारणा उहाँले राख्नुभयो ।
महासचिव पोखरेलले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि नेताहरूका टाउका जोडेर नेकपा निर्माण गरिएको तर त्यो सदासयता प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको अवसरवादी चरित्रका कारण दुर्घटनामा परेको बताउँदै फेरि पनि नेताका टाउका जोडेर एकता गरे राष्ट्रिय समर्थन प्राप्त गर्न सकिँदैन भन्ने निष्कर्षका साथ कार्यकर्ताको मन जोड्ने अभियानमा पार्टी लागेको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले जनताले रोजेको पार्टी नेकपा (एमाले)लाई घेराबन्दी गरिएका कारण पनि जनतामा निराशा बढेको बताउनुभयो ।