काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेकपा (एमाले)ले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरेको समृद्धिका लागि सङ्कल्प यात्राले व्यवस्था विरोधीको मुखमा बुझो लगाएको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कर्णाली प्रदेश अधिवेशनको आइतबार दैलेखमा उद्घाटन गर्दै नेता ढकालले नेपालमा उत्पन्न भएका धेरै विकारयुक्त मनोभावनालाई सो यात्राले चिरेको बताउनुभयो । राजतन्त्र फर्काउँछौँ भनेर लागेकाहरूलाई एमालेको यात्राले गणतन्त्र बलियो रहेछ भन्ने पाठ पढाएको उहाँले बताउनुभयो । सडकमा तथानाम बोल्दै हिँड्ने, पुराना दलको काम छैन भन्ने मानिसहरू पनि एमालेको सङ्कल्प यात्रापछि दुलोमा पसेको स्थायी कमिटी सदस्य ढकालले बताउनुभयो ।
सङ्कल्प यात्राको क्रममा दिउँसो २ बजे हुने भनी बोलाइएका नागरिक राती १० बजे सभा हुने अवस्थामा पनि अविचलित भएर बसेको उहाँले सुनाउनुभयो । नेता ढकालले भन्नुभयो–एमालेप्रतिको जनविश्वास त्यसले प्रकट गर्यो ।
नेकपा (एमाले)को एकमात्र लक्ष्य समाजवादको आधार निर्माण गर्ने रहेको उहाँले बताउनुभयो । वर्तमान गठबन्धन सरकारले देशलाई सङ्कटको अवस्थामा पुर्याइरहेकाले यसका विरुद्ध एमाले लडिरहेको र यो लडाइँलाई अझ प्रभावकारी बनाउन संगठनलाई चलायमान बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।