detail-img

‘एमालेले काम गरेर देखाउने ठाउँ स्थानीय सरकार हो’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेले काम गरेर देखाउने ठाउँ स्थानीय सरकार भएको बताउनुभएको छ । 
नेकपा (एमाले) कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले केन्द्र र प्रदेश सरकारमा पार्टी नभएको अवस्थामा स्थानीय तहमा काम गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) फरक छ भन्ने देखाउने  ठाउँ स्थानीय सरकार हो ।


नेकपा (एमाले)लाई सबैले आफ्नो अभिभावक ठान्ने पार्टी बनाउनुपर्ने र हरेक क्षेत्रले एमाले आयो भने हाम्रो जीवनमा परिवर्तन आउँछ भन्ने कुरा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
स्थानीय तहका जनता परिचालन गरेर गर्न सकिने काम जनपरिचालन गरेरै गर्नुपर्ने र जति धेरै जनपरिचालन गर्यो त्यति नै जनताले साथ दिने उहाँले प्रष्ट पार्नुभयो । जनप्रतिनिधिले गरेको कामका आधारमा पार्टी बन्ने वा बिग्रने कुरा पनि निर्धारण हुने उहाँले बताउनुभयो । 
पार्टी र जनप्रतिनिधिका बिचमा अन्तर्विरोध भयो भने जनप्रतिनिधि र पार्टी दुवैले प्रभावकारी काम गर्न नसक्ने बताउँदै महासचिव पोखरेलले जनप्रतिनिधिलाई अप्ठेरो पर्ने गरी पार्टी नेताहरूले काम गर्न नहुने र जनप्रतिनिधिले पनि पार्टी कमिटीसँग तादाम्यता राखेर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । पार्टी र जनप्रतिनिधि बिच संयन्त्र निर्माण गरी पार्टी काम र विकासको काम अघि बढाउनुपर्ने उहाँको सुझाव छ ।
काम गर्दा जनतालाई विश्वासमा लिएर गर्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्दै त्यसो गर्दा मात्र जनतामा रहेको निराशा चिर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । 
अहिलेको संविधान एमालेको सक्रिय सहभागितामा बनेकाले संविधान कार्यान्वयनको प्रमुख दायित्व पनि एमालेकै काँधमा रहेको उहाँले बताउनुभयो ।  विद्रोहको राजनीतिक यात्रा टुङ्गिएकाले अबको अभिभार राज्य निर्माणको भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।  
उहाँले संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई चिर्दै नेकपा (एमाले) अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनताले रोजेको पहिलो पार्टी भएकाले देश निर्माणमा पहिलो भूमिका पनि एमालेले निर्वाह गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।