detail-img

एमालेको भूमिका संसददेखि सडकसम्म सशक्त हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको र देशको अवस्थाकै कारण युवाको विदेश पलायन बढेको बताउनुभएको छ । 
नेकपा (एमाले) संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक काम भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको बताउनुभयो । देशलाई अर्बौं नोक्सानी पारेर केहीले केही करोड कमाउने तरिका अहिलेको गठबन्धनले अवलम्बन गरेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– अहिलेको सरकार भ्रष्टाचार, तस्करी र अयोग्यताको पर्यायवाची भएको छ ।  
सरकारको मस्तिष्कमा कतै पनि देश र जनता नरहेको प्रष्ट पार्दैै अध्यक्ष ओलीले देशको हितको लागि, देशको सार्वभौमसत्ताको रक्षाको लागि आवाज उठाउनुपर्ने बताउनुभयो । 
एउटा चन्द्रमाले लाखौँ ताराको बिचमा उज्यालो छरे जस्तै एउटा एमाले र एमाले कार्यकर्ताले देशलाई प्रज्वलित गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्वीकार्न नसक्ने बताउँदै अध्यक्ष ओलीले एमालेको भूमिका संसददेखि सडकसम्म एकदमै सशक्त हुनुपर्नेमा जोड दिनुभयो । 
अहिले सामाजिक र साँस्कृतिक क्षेत्रमा देखिएको विचलनको विषयमा पनि नेकपा (एमाले) गम्भीर रहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वाभिमान थाम्न नसक्नेले सामाजिक स्वाभिमान जोगाउन नसक्ने उहाँको भनाइ छ । त्यसैले अहिलेको गठबन्धन विरुद्ध नेकपा (एमाले)को सुदृढ र प्रभावकारी भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
देशमा नैतिक मूल्य मान्यता नै हराएको भन्दै अध्यक्ष ओलीले अहिले चुनाव हारेकालाई राष्ट्रिय सभाका सदस्य बनाइएको बताउनुभयो । 
सरकारले दिगो विकासको लक्ष विपरीतको काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हिँड्नु पर्ने बाटो एकातिर छ, हिँड्ने काम अर्काेतिर भएको छ, जानु पर्ने राजनीति एकातिर छ, अर्कातिर हिँडेको छ, सरकार बन्ने, बनाउने, टिकाउने, त्यो भन्दा पर्तिर राजनीति नै भएन, देशकै लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन, यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म भयो । 
जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको, जाजरकोटमा भूकम्पपीडित अहिले पनि प्लास्टिकमुनि नै बस्दा पनि सरकारले केही नगरेको उहाँले बताउनुभयो । 
भूकम्प पीडितलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेका बताउँदै अध्यक्ष ओलीले भन्नुभयो–सत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथितिका विरुद्ध हामीले आवाज उठाउनुपर्छ, सरकारलाई थितिमा ल्याउने काम गर्नुपर्छ ।
सरकारले हरेक क्षेत्रमा भ्रष्टाचार गरेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– बुद्धको अस्तु समाधिस्थ गरिएको रामग्रामको स्तुपा क्षेत्र उत्खनन गर्न दिने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो योजना अनुसार गर्नुभएको हो । सम्राट अशोकले २३ सय वर्ष अघि पनि नखोलेको रामग्रामको स्तुपा अहिले प्रधानमन्त्रीले सेटिङमा खोल्ने ठेक्का लगाएको उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो– घरबेटीको छोराको नाममा कम्पनी खोलेर एउटा एउटा इँटाको महत्व भएको ठाउँलाई ठेक्कामा दिने निर्णय प्रधानमन्त्रीले गराउनुभयो । त्यो देश विकासका लागि, समृद्धिका लागि होइन, आफ्नो विकास र समृद्धिका लागि पहिलेदेखि नै योजना बन्यो । 
सो स्तुपा क्षेत्र डोजर वा गैँची लगाएर नभई युनेस्कोको उपस्थितिमा साना ब्रस लगाएर संरचना नभत्किने गरी उत्खनन गर्नुपर्नेमा सरकारले मनलाग्दी गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
राष्ट्रपतिलाई आफ्नो थान्कोमा बस्न सुझाव 
अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताउनुभयो ।  उहाँले राष्ट्रपतिलाई संविधान अनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँलाई आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएको अध्यक्ष ओलीले बताउनुभयो । 
राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन गठबन्धन र बहुमतको दम्भ रहेको भन्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपति पौडेललाई सो दम्भ त्याग्न आग्रह गर्नुभयो ।
संसदीय दलको आजको बैठकमा महासचिव शंकर पोखरेलले राजनीतिक विषयबस्तु, पार्टीका नीति र  अपेक्षाका बारेमा प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य रमेश बडालले कानुन निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको  थियो ।