detail-img

‘आर्थिक, सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने’ 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला उक्त सरकार ढाल्ने काम गरिएको बताउनुभएको छ । 
नेकपा (एमाले) दोलखाको १०औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त सरकार ढलेसँगै जनतामा निराशा पैदा हुन थालेको बताउनुभयो । 
एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको उहाँको भनाइ छ ।


महासचिव पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– मनमोहन अधिकारी नेतृत्वको लोककल्याणकारी सरकारले गरेका कामलाई विस्तार गरी काम गरिरहेको अध्यक्ष ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढ््यो ।  
काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधिबाट षडयन्त्रपूर्ण तरिकाले दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू अध्यक्ष ओली नेतृत्वको सरकार हटाउन लागेको महासचिव पोखरेलले बताउनुभयो । 
कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन पुग्ने पुष्पकमल दाहाल र माधव नेपाल कम्युनिष्ट नभएको उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– अब नेपालमा कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने सामथ्र्य अरू कुनै पार्टीसँग रहेन, अब त्यो नेकपा (एमाले)सँग मात्रै छ । 
महासचिव पोखरेलले मुलुकमा आर्थिक, सामाजिक रूपान्तरणको आवश्यकता रहेको र त्यसका लागि नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि बलियो बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।  
आर्थिक, सामाजिक रूपान्तरणका लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताउँदै महासचिव पोखरेलले त्यसको लागि नेकपा (एमाले)लाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 
देशलाई माया गर्ने, स्वाभिमानको पक्षमा लागेका, स्थिरताको पक्षमा रहेका र स्वाधीनताको आन्दोलनमा रहेका सबैलाई उहाँले एमालेमा एकताबद्ध हुन आह्वान गर्नुभयो । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउँदा मात्र देशले समृद्धिको लक्ष हासिल गर्ने उहाँको धारणा छ ।
नेकपा (एमाले) दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
अधिवेशनको बन्दसत्र सञ्चालनका लागि पार्टीका पोलिटव्यूरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंको अध्यक्षतामा १० सदस्यीय अध्यक्षमण्डल गठन गरिएको र बन्द सत्र भोलि मङ्गलबार विहानबाट शुरू गरिने दोलखा जिल्ला अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनमा ६२६ जना प्रतिनिधि सहभागी छन् । अधिवेशन नयाँ जिल्ला नेतृत्व निर्वाचित गरी सम्पन्न हुने छ ।