detail-img

एमालेले बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन सक्दैनः अध्यक्ष ओली

रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) रौतहटको १०औंं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई विहीबार आज रौतहटको गरुडामा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो ।


अध्यक्ष ओलीले देशमा अब गठबन्धनको नभई जनताको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले एमाले सरकार बनेमात्र देश र जनताको सरकार हुनसक्ने भन्दै आगामी चुनावपछि एमालेको सरकार बन्नेगरी लाग्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामीले देशमा जनताको सरकार बनाउनुपर्ने छ, गठबन्धनको होइन, एमालेको बहुमतसाथ सरकार बनाए मात्रै त्यो सरकार देश, जनता, विकास र सुशासनको सरकार हुन सक्छ, तसर्थ मिसन–२०८४ लाई ध्यानमा राखेर, आन्तरिक एकता कायम गरेर, संगठन विस्तार गरेर, पार्टी सदस्यता विस्तार गरेर, जनसंगठनका सदस्य विस्तार गरेर, कमिटी विस्तार गरेर, कमिटीलाई परिचालन गरेर काम गर्नुस् ।
उहाँले जनताको बीचमा जान, जनतालाई सचेत र संगठित गर्न नेतकार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका गतिविधिलाई सक्रिय बनाएर देश र जनताका लागि काम गर्दै अघि बढेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– तपाइँहरु जनताको बीचमा जानुस्, विभिन्न तत्वले जनतामा भ्रम फिँजाउन सक्छन्, अन्यौल सिर्जना गर्न सक्छन्, त्यसबाट जनतालाई मुक्त गर्नुस् ।
नेकपा (एमाले)ले सरकारमा छँदा रौतहटसँगै समग्र मधेशको विकासका लागि काम गरेको उहाँले स्मरण गराउनुभयो । काम अगाडि बढाइएकै बेला आफूहरू सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको थियो । उद्घाटन समारोहमा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, सचिव रघ्ुवीर महासेठ, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।