detail-img

‘सत्य निरुपण गरेर मात्र सङ्क्रमणकालीन न्याय टुङ्गिनुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छा  विपरीत गएर नटुङ्गिने बताउनुभएको छ । 
सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको अध्यक्ष ओलीले बताउनुभयो । मानवअधिकार एलाइन्सले मङ्गलबार आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  पीडित माथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने बताउनुभयो । 
उहाँले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बताउनुभयो । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको उहाँको भनाइ छ । 
हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो । टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुबै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको ?’, उहाँले प्रश्न गर्नुभयो । 
आफू सरकारमा रहँदा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँ, पीडितलाई न्याय दिउँ भनेर लागेको भए पनि उहाँहरूले बेवास्ता गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
अहिले पनि सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भनेर एमालेले भनिरहेको बताउँदै पीडितलाई अन्याय हुने गरी यो विषय टुङ्ग्याउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले पहिला सत्य निरूपण गरेर मात्र त्यसको निरूपण गर्नुपर्नेमा जोड दिनुभयो । मारिएको व्यक्ति फिर्ता नआउने भए पनि सबैभन्दा पहिला पीडितलाई चित्तबुझ्ने गरी अन्तर्राष्ट्रिय मान्यता अनुसार सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने उहाँको धारणा छ । 
नेपालले हिंसाको अति जटिल अवस्था पार गरेर आएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हिंसा किन भयो, कसका लागि भयो, कसैले पुष्टि गर्न सकेको छैन । 
शान्तिपूर्ण ढङ्गले सरकारमा पुगेर देश र जनताको पक्षमा काम गर्न सकिने अवस्था हुँदा हुँदै माओवादीले हिंसात्मक आन्दोलन सुरु गरेको उहाँको धारणा छ । 
माओवादीको हिंसाकै कारण विदेश जाने लहर सुरु भएको अध्यक्ष ओलीले बताउनुभयो । द्वन्द्वको बेला हिंसात्मक सङ्घर्षरत पक्ष र राज्य पक्ष दुबैले मानिसको क्रूर किसिमले हत्या गरेको उहाँको भनाइ छ । जम्मा सत्ता, सरकार र सांसद लिनको लागि माओवादीले देश ध्वस्त बनाएको उहाँले भनाइ छ । 
अध्यक्ष ओलीले मानव अधिकार उलङ्घनकर्ताले आफ्ना कमजोरी लुकाउन अनेक कुरा गर्ने बताउँदै त्यसका विरुद्ध निर्भिकताका साथ लड्ने साहस चाहिने उहाँले बताउनुभयो । नेपालका मानव अधिकारकर्मी त्यो आँटका साथ अघि बढेका भन्दै अध्यक्ष ओलीले प्रशंसा गर्नुभयो । 
नेकपा (एमाले)को नीति राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घन गर्ने नरहेको उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले)ले मानव अधिकार उलङ्घन गर्दैन, मानव अधिकार उल्लङ्घनको पक्षमा उभिँदैन, मानव अधिकारको उलङ्घनकर्तालाई संरक्षण गर्दैन’, उहाँले भन्नुभयो । 
उहाँले मानव अधिकार संरक्षणको पक्षमा एमालेको ऐक्यबद्धता रहेको प्रष्ट पार्नुभयो । नेपाली जनताको शान्तिको चाहनाले हिंसा र मानव अधिकार उलङ्घनको कहालीलाग्दो अवस्थालाई अन्त्य गरेको अध्यक्षओलीले बताउनुभयो । 
अनर्गल कुरा गरेर, पश्चगामी र प्रतिगामी कुरा गरेर देशमा अशान्ति मच्चाउने कुरा उचित हुनै नसक्ने उहाँले बताउनुभयो । अहिले देशमा विभिन्न नाममा यस्ता खालका अनुचित क्रियाकलाप भइरहेका अध्यक्ष ओलीले बताउनुभयो । 
विविधतामा एकता नै नेपालको पहिचान भएको र एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण विकासको बाटोमा, मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनुपर्ने उहाँले प्रष्ट पार्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्त गर्नका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने अध्यक्ष ओलीको धारणा छ ।