detail-img

कुशासन र बेथितिको प्रतिवाद गर्ने सङ्कल्प 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकले गठबन्धन सरकारका कुशासन, बेथिति र गैरजिम्मेवार क्रियाकलापको प्रतिवाद गर्ने सङ्कल्प गरेको छ । विहीबार सम्पन्न बैठकले गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू सङ्कटग्रस्त बन्दै गएको निष्कर्षका साथ सरकारका यस्ता क्रियाकलापको प्रतिवाद गर्ने सङ्कल्प गरेको हो । 
बैठकमा समसामयिक प्रस्तावहरू पारित गर्दै नेकपा (एमाले)ले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, राष्ट्रिय हित तथा स्वाभिमानको रक्षा एवं मुलुकको सुन्दर भविष्यका लागि आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने सङ्कल्प गरेको छ ।  बैठकबाट पारित प्रस्तावमा भनिएको छ– राज्यसञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ । राष्ट्रिय हितमा आघात पुग्दै छ र बाह्य सम्बन्धमा देखापरेको असन्तुलन, अपरिपक्वता र अदूरदर्शिताका कारण राष्ट्रको प्रतिष्ठामै आँच पुगिरहेको छ । मुुलुक समृद्ध बन्छ र  हाम्रो भविष्य उज्ज्वल छ भने जनताको आत्मविश्वासमा सरकारकै कारण आँच पुगेको छ र आम नैराश्य बढिरहेको छ । युवाहरू विदेशिने क्रम तीब्र बन्दै जाँदा समाजमा बहुआयामिक समस्या बढ्दै गएका छन् । 

अर्थतन्त्र मन्दीमा फस्दै

 सरकारका गलत नीति र भ्रष्ट क्रियाकलापका कारण मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको छ । आर्थिक वर्षको सात महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित छ । राजस्वले चालू खर्चसमेत धान्नसकेको छैन, सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ । विकास निर्माणका काम ठप्प छन् । निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका कामको भुक्तानी पाउनसकेका छैनन् । चर्को ब्याजदर, झन्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरू हतोत्साही अवस्थामा छन् । धेरै व्यवसायहरू बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यो बैठक गहिरिँदो आर्थिक सङ्कट र बिग्रँदो व्यवसायिक वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । यसमा सार्थक हस्तक्षेप गर्दै आर्थिक विकासको ठोस विकल्प अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्दछ । 
 भ्रष्टाचार नियन्त्रण स्टण्टबाजीमात्र 
 मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् ।  सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ । गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको छ । सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको छ । विभिन्न काण्डहरूकोे छानविनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गर्दै गरिएको छ । गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरुपण आम विषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारहरू मार्फत् समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व सङ्कलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ । यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ ।