detail-img

सिन्धुलीमा क्रान्तिकारी माओवादी र मसालको सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित

सिन्धुली । सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्दै क्रान्तिकारी माओवादी र नेकपा मसालका सिङ्गै जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित भएका छन् । 
कम्युनिष्ट पार्टीहरूबिभिन्न नाममा बिभाजित भएर बर्गीय मुक्ति आन्दोलन सम्भव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेकपा (एमाले)मा समाहित भएका हुन् । 
नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई अबीर तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।


राष्ट्रिय जनमोर्चा (नेकपा मसाल) र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर बिकको नेतृत्वमा सिङ्गो जिल्ला कमिटी एवम् राष्ट्रिय जनमोर्चामा आवद्ध एकसय भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित भए । 
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्तासहित दुईसय नेता कार्यकर्ता पनि एमालेमा समाहित भएका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिइने उपमहासचिव रिमालले बताउनुभयो ।
त्यसैगरी क्रान्तिकारी माओवादीका बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरूरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उपमहासचिव रिमालले नेकपा (एमाले) कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरूको चाहना भएको बताउनुभयो । 
उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालीन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गम्भीर समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । 
नेकपा (एमाले) सिन्धुलीद्वारा शहिद ऋषि देवकोटाको ४३औं स्मृति दिवुसका अबसरमा आयोजित  पार्टी प्रवेश कार्यक्रममा  बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रूपमा अगाडि बढिरहेको बताउनुभयो । 
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुवास देवकोटा लगायतले बोल्नुभएको थियो ।
एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष कर्ण घिसिङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कांग्रेसले एक्लै चुनाव लड्ने आत्मविश्वास गुमाइसकेको छ

यसैबीच, प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव रिमालले नेपाली कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेकाले माओवादीसँगको गठबन्धनमा गएको बताउनुभयो । 
विकास र समृृद्धिका एजेण्डाहरू नभएका कारणले कांग्रेसको नेतृत्वले एक्लै निर्वाचनमा जाने आत्मविश्वास गुमाएको उपमहासचिव रिमालले बताउनुभयो । 
अन्य दलहरूले एजेण्डाको रूपमा नेकपा ( एमाले)सँग प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन गर्नुपर्ने बाध्यतामा पुगेको उहाँको भनाइ छ ।
उपमहासचिव रिमालले भन्नुभयो– एजेण्डामा जानु पर्छ, एजेण्डा के हो ? हाम्रो संविधानले समाजवाद उन्मुख भनेको छ, अहिले बनिरहेको गठबन्धनसँग समाजलाई कसरी लैजाने  भन्ने स्पष्ट दृष्टिकोण  र योजना छैन । त्यसैले एजेण्डाबिहीन सरकारले देश बर्वाद पारिरहेको छ ।
समाजवाद उन्मुख भन्ने मामिलामा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, सिके राउत, उन्मुक्तिको धारणा एउटै हो त भन्ने प्रश्न उठेको बताउँदै उपमहासचिव रिमालले अगाडि भन्नुभयो– ‘उहाँहरुको एजेण्डा के हो ? हामीहरू उहाँहरूको एजेन्डामा बहस गर्न चाहन्छौं । एजेण्डा मिल्यो भने हामी जिम्मेवार प्रतिपक्षका हिसावले सहयोग गर्छौं भनेर प्रष्ट भनेका छौं तर अहिलेसम्म त्यसरी आउनुभएको छैन । उहाँले भन्नुभयो–नेकपा (एमाले) एजेण्डाको आधारमा चुनाव लड्न चाहन्छ  र एजेण्डाको आधारमा जनताले भोट हाल्न पाउनुपर्छ । तर अहिले यातायात व्यबसायमा व्यवसायीहरूले विगतमा लगाएको जस्तै राजनीतिमा  पनि सिण्डिकेट लगाइएको छ ।  
उहाँले कांग्रेस अहिले एजेण्डामा नभएकाले गठबन्धन गरेनौं भने चुनाव हार्छौैं भनेर लागिरहेको छ तर चुनाव हार्ने र जित्ने एजेण्डाले हो दलले होइन भन्नुभयो । 
उपमहासचिव रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकारसमेत नलिएको बताउनुभयो । 
प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बिनय दाहालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज प्रेम दाहाल, एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, एमाले जिल्ला उपाध्यक्ष कर्ण घिसिङ, नेता खड्गबहादुर खत्री, नेपाल पत्रकार महासंघका सभापति कृष्णहरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।