detail-img

देश चौतर्फी सङ्कटबाट घेरिएको छः उपमहासचिव ज्ञवाली 

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देश अत्यन्त सङ्कटको मोडबाट गुज्रिएको बताउनुभएको छ । 
शनिबारबाट नेकपा (एमाले) रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले देशका सबै अवयव अहिले सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो– देश चौतर्फी सङ्कटबाट घेरिएको छ । 
अन्तर्राष्ट्रिय स्तरमा समेत देशको छवि अति कमजोर भएको र विश्व समुदायले नेपाललाई पत्याउनै छाडेको उहाँको भनाइ छ । 
नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेको उहाँको भनाइ छ । 
सरकार स्वयंले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकाले देश ठुलो आर्थिक सङ्कटमा परेको उहाँले टिप्पणी गर्नुभयो । 
प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बुुद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उहाँले बताउनुभयो । 
उपमहाचिव ज्ञवालीले भन्नुभयो– सरकारका कामले देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको र देश बन्छ भन्ने विश्वास माथि सरकारले बञ्चरो हानिरहेको छ । 
नेकपा (एमाले)बाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनुपर्ने नीति पार्टीले लिएको उहाँले जानकारी दिनुभयो । राजनीतिक रूपमा तालिम प्राप्त पार्टी कार्यकर्ता नहुँदासम्म सुन्निएर मोटाएको जस्तो अवस्था बन्ने उपमहासचिव ज्ञवालीले प्रष्ट पार्नुभयो । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र वैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । 
विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनुपर्ने र समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक भइने उहाँले बताउनुभयो । 
एमाले सत्ताको लागि नभएर समाज परिवर्तन र समृद्धिको लागि जन्मिएको पार्टी भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । एमाले कार्यकर्ता जस्तोसुकै आँधी हुरीमा पनि सतिसाल जस्तै उभिने हुन सक्नुपर्ने उहाँले बताउनुभयो । 
जनताको आवाजलाई लिएर जनताको बीचमा जान सकिएन भने जनतासँगको सम्बन्ध टुट्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । 
प्रशिक्षण कार्यक्रममा पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले विचार सामाजिक शक्ति भएको र विचारले नबाँधिएका मानिसमा विचलन आउने बताउनुभयो । उहाँले भन्नुभयो– हाम्रो विचारलाई सामाजिक शक्तिको रूपमा परिणत गराउन सक्यौँ भने हामीलाई कसैले पराजित गर्न सक्दैन, विचार ठुलो शक्ति हो । 
उहाँले सोचाइ नबदलेसम्म व्यवहार परिवर्तन गर्न नसकिने स्पष्ट पार्नुभयो । 
नेपाली समाज बदल्नकोलागि सबैभन्दा पहिला नेपाली समाजलाई बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिक्रियावादीले समाजलाई बुझ्ने अवसर नै नदिएको कारण समाज बदल्ने काममा जटिलता भएको उहाँले बताउनुभयो । समाज बदल्नको लागि समाजको विचार र चेतना बदल्नुपर्नेमा नेता रिजालले जोड दिनुभयो । 
समाजमा रहेको विकृति र विसङ्गतिका विरुद्ध सम्झौता होइन सङ्घर्ष जरूरी रहेको उहाँले बताउनुभयो । यथास्थितिमा समाज परिवर्तन सम्भव नभएको हुँदा त्यसको अगुवाइ नेकपा एमालेका नेता कार्यकर्ताले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले अहिले देशमा तस्करी र भ्रष्टाचार इतिहासमै सबैभन्दा बढी मौलाएको बताउनुभयो । नेपाली कांग्रेसको महासमिति बैठकले पनि देशको राजनीतिक निकास दिन नसकेको उहाँले बताउनुभयो ।  
उहाँले पार्टी राम्रो हुनका लागि सांगठानिक अनुशासनका साथै आर्थिक अनुशासन पनि त्यतिकै महत्वपूर्ण भएको बताउनुभयो । पार्टीलाई हरेक हिसाबले अब्बल बनाउन आवश्यक रहेको ढुङ्गेलको भनाइ छ । 
तीन दिने सो प्रशिक्षण कार्यक्रममा जिल्लाका ६० जना नेताकार्यकर्ताको सहभागिता रहेको छ । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रशिक्षकहरू तयार भएपछि वडा र टोलसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयो । 
नेकपा (एमाले) रामेछाप स्कुल विभाग प्रमुख प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटीका नेताहरू लगायतको सहभागिता रहेको छ ।