detail-img

देशको अर्थतन्त्रमा समस्याको कारक आर्थिक मन्दी नभई सरकारको असफलताः डाक्टर कँडेल

मन्थली (रामेछाप) । नेकपा (एमाले) लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले नेपालको अर्थतन्त्रमा समस्या आउनु आर्थिक मन्दीको कारण नभएको बताउनुभएको छ । 
आइतबार नेकपा (एमाले) रामेछाप पार्टी स्कुल विभागले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै कँडेलले गठबन्धन सरकारमा कार्यक्षमताको अभावको कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो– यो सरकारको असफलताको कारण आएको मन्दी हो । 
उहाँले दक्षिण एसियामा कुनै आर्थिक मन्दी नभएको स्पष्ट पार्नुभयो । डा.कँडेलले भन्नुभयो– साउथ एसियन मुलुकमा मन्दी छैन, मन्दीमा गएको श्रीलङ्का पुरानो अवस्था भन्दा पनि माथि गइसक्यो, भारत मन्दीमा गएको छैन, बङ्गलादेश, भुटान कुनै पनि मन्दीमा गएका छैनन्, चीनमा केही मन्दी आएको भनिन्छ, त्यो पनि सङ्कटको अवस्थामा छैन । 
नेपालमा कोभिडपछि अर्थतन्त्र माथि उठ्नुपर्नेमा झन् कमजोर भएको उहाँले बताउनुभयो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा गरेको सेटिङका कारण ओरालो लागेको नेपालको अर्थतन्त्र माथि उठ्न नसकेको उहाँको विष्लेशण छ । 

अहिले देशमा लगानीको वातावरण नै नभएको बताउँदै उहाँले भन्नुभयो– बैङ्कमा पैसा थुप्रिएर बसेको छ तर लगानी गर्न कोही तयार छैनन्, लगानी नभएपछि रोजगारी, उत्पादन सबै घट्ने नै भयोे । 
सरकारले राजश्व उठाउन नै नसकेको बताउँदै डा.कँडेलले भन्नुभयो– सरकारले यो वर्ष उठाउने भनेको राजश्वमा १५ प्रतिशत संशोधन गरिसक्यो, यो पनि कार्यान्वयन हुनेवाला छैन, सरकारले अझै अर्को १० प्रतिशत कटौती गर्ने अवस्था देखिँदै छ, बजेटमा राखेको भन्दा २५ प्रतिशत कम आम्दानी हुने देखिँदै छ । 
राम्रो राजश्व उठेको बेलमा पनि जेनतेन चालु खर्च धान्ने अवस्था भएको नेपालमा अहिले कर्मचारीलाई तलब खुवाउन समेत ऋण उठाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 
अर्थतन्त्र समाजको मनोविज्ञानसँग जोडिने विषय भएकाले समाजको मनोविज्ञान उच्च हुँदा अर्थतन्त्र माथि उठ्ने बताउँदै ३२ सिटले सरकार चलाएको अवस्था केही हुँदैन भन्ने मनोविज्ञानको कारण नयाँ लगानीको अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो । 

अहिले देशको राजश्व प्रशासनलाई अति कमजोर बनाइएको उहाँले बताउनुभयो । अहिलेका अर्थमन्त्रीले पनि सेटिङ गरेर राजश्व निर्माण गर्ने काम गरेकाले उहाँले दाबी गर्नुभयो । ‘जहाँ राजश्व उठाउने ठाउँ हो त्यहीँ सेटिङ गरेर व्यक्तिलाई फाइदा हुने र देशलाई घाट हुने काम गरेपछि कसरी राजश्व उठ्छ ? उहाँले प्रश्न गर्नुभयो ।