detail-img

वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितमा काम गर्न सक्दैनः डाक्टर भट्टराई

मन्थली (रामेछाप) । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आइतबार सहभागीहरूलाई प्रशिक्षण दिनुहुँदै डाक्टर भट्टराईले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नु त परको कुरा बोल्न पनि नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– सो सरकारले देश र जनताको हितको पक्षमा कतै कुरै राख्न सक्दैन । 
गठबन्धन सरकारले नेपालको आधारभूत विदेश नीति माथि नै प्रश्न उठ्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो । युक्रेन युद्धको सवालमा सरकारले अनावश्यक रूपमा एउटा मुलुकको पक्ष लिएर पञ्चशीलको सिद्धान्त विपरीतको काम गरेको बताउँदै डाक्टर भट्टराईले भन्नुभयो– यो असन्तुलित परराष्ट्र नीति हो, यो हिसाबले नेपाल जान सक्दैन, हामी एकातिरको सैन्य गठबन्धनमा लाग्यौँ भने नेपालको सुरक्षा खतरामा पर्छ । 
नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै उहाँले यो देश र जनताको लागि चिन्ताको विषय भएको बताउनुभयो । विदेशी हस्तक्षेप विरुद्धको विषयमा जनतालाई सचेत पार्न आवश्यक रहेको बताउँदै डाक्टर भट्टराईले भन्नुभयो– जबसम्म जनता सचेत र संगठित हुँदैनन् त्यो बेलासम्म वैदेशिक हस्तक्षेप रोक्न सकिँदैन । 
नेपालले संविधान बनाउन लाग्दा भारतले त्यसलाई रोक्ने प्रयत्न गरेको स्मरण गराउँदै उहाँले त्यसपछि पनि नेपाललाई समृद्धिको बाटोमा अघि बढाइरहेको बेला एमाले सरकारलाई फाल्न देश भित्रैकै शक्ति प्रयोग गरेर विदेशी शक्ति लागेको उहाँले बताउनुभयो । भारत लगायत विदेशी शक्तिले आफ्नो अनुकूलको काम एमाले नेतृत्वको सरकारबाट नहुने देखेपछि त्यो खेल खेलेको डाक्टर भट्टराईले बताउनुभयो । 
भारतले ठाउँ ठाउँमा नेपाली भूमि मिचेको बताउँदै उहाँले भारतले सुगौली सन्धि मान्नुपर्ने बताउनुभयो । डाक्टर भट्टराईले भन्नुभयो– सुगौली सन्धि अनुसार भारले कालापानीको सेना हटाउनुपर्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको भू–भाग भारतले नेपाललाई फिर्ता गर्नुपर्छ । त्यस्तै सुस्ता लगायतका क्षेत्रमा नेपालको मिचिएको सीमा छाडिदिनुपर्छ । 

उहाँले भारतसँग भएको सन् १९५० को विभेदकारी सन्धिको पनि पुनरावलोकन हुनुपर्ने बताउनुभयो । भारत यस विषयमा छलफल गर्न पनि तयार नभएको भन्दै डाक्टर भट्टराईले आलोचना गर्नुभयो । 
भारत नेपालसँगको सीमा नियन्त्रण गर्ने कुरामा समेत तयार नरहेको उहाँले बताउनुभयो । सीमा नियन्त्रणमा एक रुपता ल्याउन नेपालले प्रयास गर्दा पनि भारत त्यसमा तयार नरहेको उहाँले स्पष्ट पार्नुभयो । भारतसँगको कृषि उपज, जलस्रोत, व्यापार, पारवहन लगायतका असमान विषयमा छलफल गर्नुपर्छ भन्दा एमालेमाथि आक्रमण भएको डाक्टर भट्टराईले बताउनुभयो । 
एमाले सरकारबाट हटेपछि यी सबै कुरा ओझेलमा परेका र प्रधानमन्त्री प्रचण्डले भारतसँग यी कुरा उठायो भने माहौल बिग्रन्छ भनेर आत्मसमर्पण गरेको उहाँले बताउनुभयो । 
डाक्टर भट्टराईले भन्नुभयो– देशी विदेशी शक्तिबाट जुन खेल भइरहेको छ, त्यो जनतालाई बुझाउने कुरा आजको प्रमुख आवश्यकता होे ।