detail-img

उपमहासचिव ज्ञवालीद्वारा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुलद्वारा जनसंगठनका नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने सिलसिलामा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका पदाधिकारी तथा सदस्यहरूका लागि सञ्चालित तीनदिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू रचना खड्का, कपिल पोखरेल, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्यहरू तथा विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षणमा संगठनका पदाधिकारी तथा सदस्यहरू गरी ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरूलाई प्रशिक्षण अघि र पछि गरी दुईपटक परीक्षा लिई प्रशिक्षणबाट प्राप्त गरेको ज्ञान र उपलब्धिका बारेमा जानकारी लिने विधि अपनाइएको थियो ।


आज भएको प्रशिक्षण समापन कार्यक्रममा प्रशिक्षणका सहभागीहरूलाई उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रमाणपत्र प्रदान गर्नुभयो । उपमहासचिव ज्ञवालीले प्रशिक्षणका अतिरिक्त सहभागीहरूले उठाएका विभिन्न जिज्ञाशाहरूका बारेमा प्रष्ट पार्नुभएको थियो । 
सो क्रममा उपमहासचिव ज्ञवालीले महाकाली सन्धिबाट टनकपुर सन्धिका धेरै कमजोरीलाई सच्याउने काम भएको र महाकाली नदीलाई नेपाल– भारत सीमा नदी भनी किटान भएको हुँदा तुलनात्मक रूपमा राम्रो रहेको प्रष्ट पार्नुभयो । 
उहाँले पञ्चेश्वर परियोजनाको काम महाकाली सन्धि भएको २७ बर्षसम्म पनि नबन्नुको कारण पनि त्यही भएको बताउनुभयो । 
उहाँले मिटरव्याज पीडितहरूका मागप्रति पार्टीको ऐक्यवद्धता रहेको र सरकारको असक्षमताका कारण कानुन बनेर पनि मिटरव्याजीहरूलाई कारबाही नभएको बताउनुभयो । 
प्रशिक्षणमा सहभागीहरूका तर्फबाट अनुभव सुनाउँदै नारायणप्रसाद आचार्यले प्रशिक्षणबाट पार्टीका नीति, विचार र कार्यदिशाका बारेमा व्यवस्थित हिसावले जान्ने अवसर मिल्नुका साथै यसबाट आफ्नो चेतनास्तर समेत निकै बढेको महसुस भएको बताउनुभयो । 
त्यस्तै अर्का सहभागी तीर्थराज घिमिरेले पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, पार्टी पद्धति, सिद्धान्त र पार्टी संगठन कसरी चल्नुपर्छ भन्ने बारेमा महत्वपूर्ण ज्ञान हासिल भएको अनुभव सुनाउनुभयो ।