detail-img

‘कम्युनिष्ट शक्ति जबजको छातामुनि आउनुपर्ने’

मन्थली (रामेछाप) । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज गुरु बरालले  राष्ट्रिय एकता आजको आवश्यकता रहेको बताउनुभएको छ । 
आइतबार नेकपा (एमाले) रामेछाप पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आइतबार प्रशिक्षण दिँदै  नेता बरालले जनताको बहुदलीय जनवादले नै राष्ट्रिय एकता कायम गर्न सक्ने बताउनुभयो । सबै कम्युनिष्ट शक्ति जनताको बहुदलीय जनवादको छातामुनि आउनुपर्ने उहाँको धारणा छ । 
अहिले आफूलाई कम्युनिष्ट भन्ने केही राजनीतिक दलहरू सिद्धान्त, नीति, कार्यक्रम र कार्यनीति विना गन्तव्यहीन भएर हिँडेको स्थायी कमिटी सदस्य बरालले बताउनुभयो । 
जनताको बहुदलीय जनवादसँग सही दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, संगठनको आधार रहेको उहाँले बताउनुभयो । त्यसैले नेपालको राजनीतिमा एमालेको विकल्प नरहेको उहाँले भनाइ छ । 
पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम अहिले समाजमा फिँजाउने प्रयास गरिएका भए पनि दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति नभएका दलहरूको भविष्य नभएको उहाँले प्रष्ट पार्नुभयो । उनीहरूको सस्तो लोकप्रियता धेरै समय नटिक्ने धारणा उहाँले राख्नुभयो ।  


त्यसैगरी, केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले अध्यक्ष केपी शर्मा ओली जनतामा आशा जगाउने नेता भएको बताउनुभयो । 
अध्यक्ष ओली प्रधानमन्त्री हुँदा रोजगारीका लागि विदेश जाने सङ्ख्या घटेको र विदेश गएका पनि फर्किएर उत्पादनमा जोडिएका उदाहरण उहाँले दिनुभयो । 
उहाँले जनताको बिचमा घुलमिल हुन नसक्ने नेता कार्यकर्ताले देश, जनता र पार्टीको हितमा काम गर्न नसक्ने हुँदा एमालेका नेताकार्यकर्ता जनताको सुख दुःखमा जोडिनुपर्ने बताउनुभयो । 
मार्क्सवाद भनेको समाजलाई परिवर्तन गर्ने विचार भएको बताउँदै ढुङ्गेलले कुरा सुन्न नसक्ने मान्छे संगठक हुन नसक्ने प्रष्ट पार्नुभयो । व्यक्ति कमिटीको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा, केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा र महाधिवेशन पार्टी सदस्यको मातहतमा हुने कुरा भुल्न नहुने उहाँले बताउनुभयो ।