detail-img

सदस्यता नवीकरण लगायत महत्वपूर्ण निर्णय गर्दै संगठन विभागको १७औं बैठक सम्पन्न

काठमाडौं । नेकपा(एमाले) केन्द्रीय संगठन विभागको सत्रौं बैठक पार्टी सदस्यता नवीकरण, सदस्यता शुद्धीकरण, जिल्ला तथा मातहतका कमिटीका अधिवेशन र विभागहरूका कार्ययोजना कार्यान्वयन लगायत विषयमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । 
उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा विभाग प्रमुख, स्थायी कमिटीका सदस्य काशीनाथ अधिकारीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा  २०८० फागुन १२ गते बैठक बसेको थियो । 
विभागका सचिव तथा केन्द्रीय कमिटीका सदस्य माधव ढुङ्गेलले सञ्चालन गर्नुभएको बैठकमा उपस्थित सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । बैठकका एजेण्डाहरूमा जीवन्त छलफल पश्चात गरिएका  निर्णयहरू यसप्रकार रहेका छन्ः
१. नियमित पार्टी सदस्यता नवीकरणका सम्बन्धमा–
    २०८१ सालको निमित्त यही फागुन–चैत्र महिनामा भैरहेको पार्टी सदस्यता नवीकरणमा विगतमा भएका कमीहरू दोहिरिनु हुँदैन ।
    प्रदेश तथा जिल्ला कमिटीहरूले प्राथमिकताका साथ सदस्यता नवीकरण सम्बन्धी ठोस कार्ययोजना बनाएर यो महत्वपूर्ण काम यही चैत्र मसान्तभित्र सम्पन्न गरेको हुनुपर्छ ।
    प्रदेश कमिटीले सदस्यता नवीकरण सम्बन्धी एकल बिषयमा एक दिनको अभिमुखीकरण कार्यक्रम राखेर स्पष्ट पार्ने र निर्देशन दिने काम गर्नु उपयुक्त हुने छ ।
    २०८१ का लागि सदस्यता निरन्तरता राख्नसकिने योग्यतम सदस्यहरूको बारेमा सम्बन्धित कमिटीको निर्णय पुस्तिकामा माइन्युट गरेको हुुनुपर्छ ।
    नवीकरणका लागि निर्णय गरिएका सदस्यहरूको भौतिक उपस्थितिमा (२०८१ चैत्र महिनासम्मको तोकिएको शुल्क लेवी लिएर) पार्टी सदस्यता नवीकरण गर्नुपर्छ ।
    तोकिएको समय र स्थानमा उपस्थित हुन नसकेका सदस्यहरूलाई पुनः आमन्त्रण  गरेर पनि नवीकरण गराउनुपर्छ । त्यतिगर्दा पनि सम्बन्धित सदस्यको कारणबस उपस्थिति हुनसकेन भने तोकिएका जिम्मेवार कमरेड घरमै पुगेर पनि सदस्यता नवीकरण गर्नुपर्ने छ ।
    आफ्नो जिम्मेवारीमा परेका सदस्यहरूको सदस्यता नवीकरण गर्ने कार्य सम्बन्धित कार्यकर्ताको मूल्याङ्कनको बिषय बन्ने छ ।
    कुनै सदस्यको चैत्र महिनाभित्र सदस्यता नवीकरण नभएकाृे अबस्थामा उहाँ आबद्ध पार्टी कमिटीबाट स्वतः हटेको मानिने छ ।
    सदस्यहरूको नवीकृत सूचि प्रदेश कार्यालय मार्फत केन्द्रीय संगठन विभागमा पठाउनुपूर्व जिल्ला कमिटीका अध्यक्ष, सचिव र जिल्ला संगठन विभाग प्रमुखको हस्ताक्षर भएको हुनुपर्ने छ ।

२. पार्टीका जिल्ला अधिवेशन लगायत स्थानीय अधिवेशनहरू आयोजना गर्ने सम्बन्धमा–
    जिल्ला अधिवेशन सुव्यवस्थित बनाउनेबारे महासचिवबाट पुस २४ गते जारी गरिएको निर्देशनलाई गम्भीररूपले पालना गरिनुपर्छ । 
     विधान र नियमावलीमा भएको व्यबस्था भन्दा बढी सदस्य सङ्ख्या भएका जिल्ला कमिटीहरू स्वतः संगठन कमिटीको हैसियतमा गैसकेका छन् । त्यस्ता जिल्ला कमिटीलाई सम्बन्धित प्रदेश कमिटीले औपचारिकरूपमै संगठन कमिटीमा रुपान्तरित भएको जानकारी गराउनुपर्छ । 
    स्मरणीय छ – जिल्ला संगठन कमिटीका सदस्य अधिवेशनका लागि प्रतिनिधि बन्न सदस्यहरूबाट चुनिएरै आउनुपर्ने छ । त्यसैगरी अन्य कुनै पनि तहका संगठन कमिटीका सदस्यहरूले पनि आफ्नो तहको अधिवेशन आयोजना गर्दा आयोजकका हैसियतमा अधिवेशन हलमा सहभागिता जनाउन पाउने तर प्रतिनिधि हुन सदस्यहरूबाट छानिएरै आउनुपर्ने छ ।  
    २०८१ जेठ मसान्तभित्र पार्टीका जिल्ला अधिवेशन मात्र होइन, क्रमशः पालिका÷इलाका, वडा÷शाखा र टोल÷प्रारम्भिक कमिटीका अधिवेशनहरूको पनि आयोजना गर्नुपर्ने छ ।
    २०८१ जेठ मसान्तसम्म आयोजना गरिने पार्टी अधिवेशनहरूमा प्रतिनिधि छनौटको मुख्य आधार २०८० चैत्रसम्मका लागि यस अघि नवीकरण गरिएका सदस्यहरूको प्रमाणित सूचि नै हुने छ ।
    कारणवश कुनै स्थानीय पार्टी कमिटीले २०८१ जेठ मसान्तभित्र अधिवेशन गर्न नसक्ने परिस्थिति आएमा त्यसपछि गरिने अधिवेशन चालु फागुन–चैत्रमा गरिने नयाँ नवीकृत सदस्यहरूको प्रमाणित सूचिबाट प्रतिनिधि छानेर अधिवेशन आयोजना गर्नुपर्ने छ ।
    प्रतिनिधि प्रमाणीकरणको व्यवस्थाका सम्बन्धमा – कुनै पनि तहको पार्टी  अधिवेशन गर्दा उद्घाटन हुनु दुई दिन अगावै प्रतिनिधिहरूको प्रमाणीकरण भएको हुनुपर्ने छ । प्रमाणीकरण जिल्ला अधिवेशनका प्रतिनिधिको सम्बन्धित प्रदेशको जिम्मेवारीमा रहेका केन्द्रीय संगठन विभागका सदस्यबाट, पालिका अधिवेशनका प्रतिनिधिको प्रदेश संगठन विभागका सम्बन्धित सदस्यबाट र वडा अधिवेशनका प्रतिनिधिको जिल्ला संगठन विभागका सम्बन्धित सदस्यबाट गर्नुपर्ने छ । कुनै जिल्लामा संगठन विभाग गठन नभएको अवस्था रहेछ भने जिल्ला अध्यक्षले प्रमाणित गर्नुपर्ने छ ।
    अधिवेशनबाट नेतृत्व निर्माणका सन्दर्भमा एक पछि अर्को समस्याहरू आइरहेको सन्दर्भमा चुस्त र दक्ष टिम खटाउन केन्द्रीय निर्वाचन आयोगलाई विशेष अनुरोध गर्ने निर्णय गरिएको छ ।

३. जनसंगठनका स्थानीय अधिवेशनहरूका सम्बन्धमा– 
    जनसंगठनका अधिवेशन हुन बाँकी प्रदेश, जिल्ला तथा स्थानीय अधिवेशनहरू पनि २०८१ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।

४. नेतृत्वपङ्क्तिका कमरेडहरूको राजनीतिक, सांगठानिक विवरण सङ्कलनका सम्बन्धमा– 
    नेतृत्वपंक्तिका कमरेडहरूबाट थालनी गरिएको पार्टी सदस्यको प्रोफाइल लिङ्क तथा वेभसाइट निर्माणको कामलाई संगठन विभागले थप तिब्रता दिने निर्णय गरिएको छ ।  
५. सदस्यता शुद्धीकरणका सम्बन्धमा–
    फागुन महिनाभित्र ‘पार्टी सदस्यता शुद्धीकरणका समस्या र समाधान‘ बिषयक एकदिने कार्यशाला गोष्टीको आयोजना गर्ने निर्णय गरिएको छ । 

६. कामलाई वडा – केन्द्रित बनाएर लैजाने सम्बन्धमा– 
पार्टी सदस्यता नवीकरण तथा विस्तार, वडा तथा टोल अधिवेशन, जनसंगठनका कमिटी निर्माण, सम्भावना बोकेका युवाहरूको रोष्टर उतार्ने, विकास र जनसरोकारका मुद्दामा अग्रसरता, सदस्यहरूको प्रशिक्षण, वर्तमान तथा पूर्व जनप्रतिनिधि परिचालन लगायतका कामहरू अघि बढाउन तत्काल वडा केन्द्रित कार्ययोजना बनाएर सङ्कल्पकासाथ कार्यान्वयनमा जुट्न जिल्ला कमिटीहरूलाई गम्भीर ध्यानाकर्षण गरिएको छ ।

६. केन्द्र र विभागका बार्षिक कार्ययोजनामा गर्ने भनिएका कामहरूका सम्बन्धमा–
    २०८०÷८१ का लागि केन्द्रीय कमिटीबाट अपानि – ७ मार्फत निर्देशन गरेका र केन्द्रीय संगठन विभागबाट तर्जुमा गरिएका बार्षिक कार्ययोजनामा राखिएका सम्पन्न हुन बाँकी कामहरू चार महिनाभित्र सम्पन्न गर्न सम्बन्ति सबै केन्द्रित हुनुपर्ने छ ।  

७. विभागका सदस्यलाई आमन्त्रण गर्नेबारे–
    सम्बन्धित प्रदेशको जिम्मेवारीमा तोकिनुभएका केन्द्रीय संगठन विभागका सदस्यलाई पार्टीका जिल्ला कमिटी बैठक, जिल्ला अधिवेशन र जिल्ला अधिवेशनका प्रतिनिधिहरूको प्रमाणीकरणमा अनिवार्य आमन्त्रण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।