detail-img

चितवनलाई शिक्षा, स्वास्थ्य, पर्यटन हरेक क्षेत्रको हब बनाउनुपर्छः अध्यक्ष ओली 

भरतपुर (चितवन) । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भरतपुर भ्रमण बर्ष उद्घाटन समारोहमा सरिक हुनुभयो । 
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्थ्यो । 
भरतपुर भ्रमण बर्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले भरतपुर भ्रमण बर्षलाई चितवन भ्रमण बर्षका रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले चितवनको विकास तीब्र गतिमा हुनसक्ने बताउनुभयो ।


अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेको समयमा नदीको बाटोबाट कलकत्ता बन्दरगाहसम्म जाने बाटोलाई जोड्ने काम अघि बढाएको र आफूले पानी जहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझे पनि अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । 
पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउने काम तथा हुलाकी राजमार्ग निर्माण लगायतका काम आफू प्रधानमन्त्री रहेको समयमा भएको स्मरण गराउँदै त्यसबेला नारायणी नदी नियन्त्रण, सभा हल निर्माण, औद्योगिक क्षेत्र घोषणालगायतका काम भएको उहाँले बताउनुभयो । 
भरतपुर भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने  बताउनुभयो । 
चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । 
यसैगरी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको बताउनुभयो ।