detail-img

‘क्षेत्रीय पार्टीहरू असफल भइसके, देश बनाउन राष्ट्रिय पार्टीलाई अवसर दिनुपर्छ’

जलेश्वर (महोत्तरी) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्वहरू सक्रिय हुन थालेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल महोत्तरीले शनिबार जलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यसले समाजलाई असुरक्षित बनाउने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । 
नेपालको हितको पक्षमा अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रयोग गर्ने कुरामा पनि सरकार असफल भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– सरकार नेपालका सरोकारका विषयलाई सम्बोधन गर्नै सक्दैन, अहिले सरकार विदेशीले जे भन्छन्, त्यही गर्नुपर्ने लाचार अवस्था छ । 
अहिले सरकारमा रहेका दलहरूका बिचमा पनि खटपट सिर्जना भएकाले यो सरकारबाट कुनै आशा गर्न नसकिने उहाँको भनाइ छ ।  
जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्नु आजको प्रमुख अभिभारा भएको र त्यो काम नेकपा (एमाले) बाहेक अरूले गर्न नसक्ने देखिएको महासचिव पोखरेलले बताउनुभयो । 
जसले अस्थिरता निर्माण गर्न खोजेका छन्, उनीहरू समाधान नभएर समस्या मात्र भएको उहाँको भनाइ छ । 
मुलुक सङ्घीयताका कारण कमजोर नभएको र संघीयता विरोधीले भ्रामक प्रचार गरिरहेको स्पष्ट गर्दै कुनै पनि खालको अस्थिरता नेपाल र नेपाली जनताको लागि उचित हुन नसक्ने महासचिव पोखरेलले बताउनुभयो । 
क्षेत्रीय पार्टीहरू असफल भइसकेकाले अब देश बनाउन राष्ट्रिय पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनुको विकल्प नभएको उहाँको धारणा छ ।
समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले भन्नुभयो– जसले काम गर्न सक्छ, त्यसलाई लामो समय काम गर्न दिने हो भने देश बन्छ, जसले काम गर्न सक्छ, त्यसैलाई जिम्मा दिने गरी बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्छ । 
उहाँले वर्तमान सरकारको जनविरोधी, राष्ट्र विरोधी र असक्षमताले सीमा नाघेको हुँदा यसका विरुद्ध जनतामा जाने सोच एमालेले बनाएको जानकारी गराउनुभयो । 
केही समय अगाडि एमालेले मध्यपहाडमा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको र त्यस यात्राले नागरिकमा आशा जगाउने काम गरेको बताउँदै महासचिव पोखरेलले पार्टीले अब हुलाकी मार्ग केन्द्रित यात्राको तयारी गरिरहेको जानकारी गराउनुभयो । उहाँले मधेसको विकास र समृद्धिका लागि अब नेकपा (एमाले) आवश्यक छ भन्ने सन्देश दिन जरूरी रहेको बताउनुभयो । 
महासचिव पोखरेलले एमाले सरकारबाट हटेपछि विकासका काम रोकिएका र ऋण उठाएर शिक्षक, कर्मचारीको तलब खुवाउनुपर्ने अवस्थामा राज्य पुगेको छ । 
एमाले सरकारमा रहँदा विकास निर्माणको कामले तीव्रता पाएको कुरा सबैले अनुभूत गरेका र आज अवस्था के छ भन्ने कुरा पनि नागरिकले अनुभूति गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । 
अहिले इतिहासमा नै सबैभन्दा कम पुँजीगत खर्च भएको र यसबाट विकासका कामको अवस्था सहजै अनुमान गर्न सकिने महासचिव पोखरेलको भनाइ छ ।