detail-img

मजदुर र किसान जीवन र जीविकाका आधारः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको ट्रेड युनियन आन्दोलनले धेरै उपलब्धि हासिल गर्दै बेग्लै उचाईं र सफलता प्राप्त गरेको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले नेपाली ट्रेड युनियन आन्दोलनको ७७औं बार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा व्यवस्था परिवर्तन मात्र होइन, अवस्थामा पनि परिवर्तन आएको बताउनुभयो । 
अध्यक्ष ओलीले अहिले कतिपय मानिस व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने गलत भाष्य निर्माण गर्न खोजिरहेको भन्नुहुँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– के अहिले जस्तै हिजो मजदुरहरूले अधिकार प्राप्त गरेका थिए ? के अहिले जस्तो  सामाजिक सुरक्षाको व्यवस्था थियो ?
तर अझै पनि श्रमिकहरूको कामको सम्मान र सुरक्षा तथा जीवन÷परिवार चल्ने तलब प्राप्त हुने अवस्था भइनसकेकोृ बताउँदै अध्यक्ष ओलीले मजदुर र किसान जीवन र जीविकाका आधार भएकाले उनीहरूको जीवन चल्ने ग्यारेण्टी राज्यले गर्नुपर्ने धारणा राख्नुभयो । 
उहाँले मजदुरका अधिकार, मानवतावादको पक्षमा र समाजलाई माथि उठाउनमा नेपाल टे«ड युनियन महासंघको असाधारण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । 
नेपाली समाजमा अझै असमानता, विभेद र गरिबी कायम रहेको वताउँदै अध्यक्ष ओलीले  त्यस्तो अवस्था अन्त्यका लागि काम गर्नु आवश्यक रहेको बताउनुभयो ।


अध्यक्ष ओलीले सत्ता गठबन्धनमा आजै आएको फेरबदललाई सङ्केत गर्दै आज समय निक्कै छिटो दौडिएको अनुभूति भइरहेको बताउनुभयो ।
देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको र यसबाट भताभुङ्ग अवस्थामा रहेको राजनीति सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
देशमा परिवर्तन आवश्यक रहेको र परिवर्तन आएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– जे सुकै परिवर्तन भए पनि नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गर्ने उद्देश्यका साथ अगाडि सारिएको मिसन २०८४ मा हामी निरन्तर लागिरहने छौं । 
नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति भयो भने राष्ट्रियताको संरक्षण, देशको विकास र समृद्धि हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले यथास्थितिवादी तथा प्रतिक्रियावादी शक्ति बलियो हुँदा प्रतिगमन हुने, देश अप्ठेरोमा पर्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले समग्र सामन्तवादको अन्त्य, लोकतन्त्र, गणतन्त्र र सामाजिक परिवर्तनको पक्षमा व्यवस्थित आन्दोलनका रूपमा शुरु गरिएको झापा आन्दोलनका अग्रज, सहयोद्धाहरूको निर्ममतापूर्वक हत्या गरिएको दिन आज (फागुन २१) उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्मान प्रकट गर्नुभयो ।


पुस्तक विमोचन
अध्यक्ष ओलीले जिफण्टले प्रकाशन गरेको पुस्तक ‘चुनौतीको सामना गर्दै नेपाली ट्रेड युनियन आन्दोलन’को विमोचन गर्नुभयो । 
नेकपा (एमाले)का उपमहासचिव तथा जिफण्टका संरक्षक विष्णु रिमाल उक्त पुस्तकका लेखक तथा सम्पादक हुनुहुन्छ । लोकतन्त्रका लागि ट्रेड युनियन आन्दोलन, लोकतन्त्रमा ट्रेड युनियन आन्दोलन, अधिकारको रक्षाः ‘लचकता र संरक्षण’मा सन्तुलनको सङ्घर्ष, बदलिँदो परिस्थितिमा ट्रेड युनियन आन्दोलनको भावी कार्यदिशाः निष्कर्ष र सिफारिश सहित नेपाली ट्रेड युनियन आन्दोलन, उपलब्धि र प्रभावबारे अध्ययन प्रतिवेदनका रूपमा उक्त पुस्तक रहेको छ ।


श्रम आन्दोलनमा लाग्नेहरूले अवस्था परिवर्तनको नेतृत्व गर्नुपर्छः रिमाल 
कार्यक्रममा उपमहासचिव रिमालले नेपाली ट्रेड युनियन आन्दोलनको विगत र वर्तमानबारे चर्चा गर्नुका साथै भावी आन्दोलनका एजेण्डाका बारेमा मन्तव्य राख्नुभएको थियो ।  उपमहासचिव रिमालले श्रम आन्दोलनमा प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्नुपर्ने बताउँदै निराशाको खेती गर्नेहरूले अवस्था परिवर्तन भएन भन्ने कुरालाई सकारात्मक रूपमा लिँदै  अब अवस्था फेर्ने आन्दोलनको नेतृत्व श्रम आन्दोलनमा लाग्नेहरूले गर्नुपर्छ भन्नुभयो । 
हिजोका दिनमा श्रम आन्दोलनमा लाग्नेहरूका लागि राज्य शत्रुका रूपमा रहेको तर आज हामीले बनाएको संविधान बमोजिम सरकार गठन हुने हुँदा राज्य शत्रुका रूपमा नरहेको स्पष्ट गर्दै  उपमहासचिव रिमालले तर अहिले योजनाबद्ध ढङ्गले श्रमिकहरूका अधिकार खोस्ने काम भइरहेकाले नेपालको ट्रेड युनियन आन्दोलन चुनौतीबाट गुज्रिरहेको बताउनुभयो ।


जिफण्टका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिफण्ट स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अग्रजहरू ललितकुमार बस्नेत, प्रकाश नेपाली, विष्णु रिमाल, शिव शर्मालाई सम्मान गरिएको थियो ।