सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेशका दशै जिल्लामा ‘एक घर एक संगठित सदस्य’को योजना अघि सार्ने निर्णय गरेको छ ।
पार्टीको सातौं केन्द्रीय कमिटी बैठकबाट आगामी वर्ष २०८१ लाई संगठन शुद्धिकरण र सदृढिकरण वर्षका रुपमा अघि बढाउने निर्णय अनुसार कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकले मातहतका दशवटै जिल्लामा उक्त नीतिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
अहिले भएका पार्टी सदस्यहरूमध्ये निस्क्रियलाई बिदाई गर्ने निर्णय गरेको नेकपा (एमाले) कर्णालीले कम्तीमा एक घरमा एक एमाले सदस्य बनाउने लक्ष्यलाई पुरा गर्न जिल्ला र पालिका स्तरका कमिटीलाई निर्देशन दिएको पार्टीका कर्णाली प्रदेश सचिव धुर्ब कुमार शाहीले जानकारी दिनुभयो ।
पार्टीका सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको आतिथ्यतामा कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीहरुका अधिवेशन आगामी २०८१ वैशाख १५ गतेसम्मको समायसीमाभित्र सम्पन्न गर्ने निर्णय भएको छ ।
अध्यक्ष शाहका अनुसार बैठकले प्रदेश कमिटीको सचिवालय गठन गरेको छ । तत्कालका लागि यसभन्दा अघिल्लो कार्यकालमा सचिवालयमा रहेर काम गरेका र यो पटक पनि प्रदेश कमिटीमा निर्वाचित भएका १२ जना सदस्य र पाँच जना पदाधिकारीहरू रहेको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
सचिवालयमा भूगोल र समावेशीतालाई ध्यान दिएर पूर्णता दिन, प्रत्येक प्रदेश कमिटी सदस्यलाई जिम्मेवारी दिँदैं प्रदेश कमिटीको जिम्मेवारी विभाजनको गृहकार्य गर्ने अधिकार प्रत्यायोजनको निर्णय समेत बैठकले गरेको छ, अध्यक्ष शाहले भन्नुभयो, प्रदेशका दशवटै जिल्लामा पार्टी सदस्यता वितरण र नवीकरणको काम चैत महिनाभित्रमा सकाउने, हरेक कमिटीका ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले अध्यक्ष शाहले प्रस्तु गर्नुभएको राजनीतिक प्रतिवेदन, दशवटै जिल्लाका अध्यक्षले प्रस्तुत गर्नुभएको जिल्लागत प्रतिवेदन पारित गरेको छ ।
बैठकमा सचिव भट्टले पार्टीको आन्तरिक जीवनको विकारका रूपमा रहेको टक्सीनलाई बढ्न नदिन प्रदेश कमिटीका सदस्यहरूलाई निर्देशन दिनु भएको छ । पार्टीले राष्ट्रिय राजनीतिमा जुनखाले निर्णय लिएको छ, त्यसले पार्टी र देशकै लागि दीर्घकालीन महत्व राख्ने उहाँले वताउनुभयो ।
बैठकमा स्थायी कमिटी सदस्यहरू यमलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।