काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ सत्ता समीकरणपछि जनतामा आशा जागेको बताउनुभएको छ ।
नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औँ सम्मेलनको शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले अघिल्लो सरकारले काम गर्न नसक्दा नागरिकमा निराशा बढेको बताउनुभयो ।
उहाँले नयाँ सरकार बनेपछि देशका आर्थिक लगायतका मुद्दामा सुधार हुने आशा नागरिकमा बढेको विश्वास व्यक्त गर्नुभयो ।
नयाँ सरकार र सत्ता साझेदारीमा रहेका दलहरूका सामु धेरै चुनौती रहेको बताउँदै उपाध्यक्ष पाण्डेले चुनौतीलाई सामना गर्ने क्षमता विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
नयाँ सत्ता साझेदारी संसद्को यो कार्यकाल पूरै समय टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने प्रमुख दायित्व अब एमालेको काँधमा आएको पनि उहाँले बताउनुभयो ।
नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।