detail-img

नयाँ सत्ता साझेदारीबाट मिसन–२०८४ लाई सहयोग पुर्याउँछः बरिष्ठ उपाध्यक्ष पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा सबल राष्ट्रिय शक्ति निर्माण आजको आवश्यकता रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) काठमाडौंं महानगरपालिका–५ वडा कमिटीको १२औँ अधिवेशन उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले सबल राष्ट्रिय शक्तिले नै एजेण्डामा आधारित भएर राष्ट्र, राष्ट्रिय हित, स्वाभिमान, स्वतन्त्रता, अखण्डताको पक्षमा काम गर्ने बताउनुभयो । 
जनताको हक हितको पक्षमा काम गर्ने सवालमा राजनीतिक दलहरू एकजुट भएर जानुपर्ने र त्यसको अगुवाइ नेकपा (एमाले)ले गर्ने उहाँले बताउनुभयो ।  
कुनै एउटा पार्टीले बहुमत नल्याउँदा राजनीतिक अस्थिरताको सिलसिला सुरु भएकाले त्यसलाई अन्त्य गर्न नेकपा (एमाले)ले बहुमत ल्याउन आवश्यक रहेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।  
नेकपा (एमाले) ले मिसन– २०८४ त्यसकै लागि भनेको उहाँले प्रष्ट पार्नुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– त्यो बहुमत आर्थिक विकास र समृद्धिको लागि, मुलुकमा राजनीतिक स्थायित्वको लागि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई अगाडि बढाउनको लागि, मुलुकमा सामाजिक सद्भाव कायम गराउनको लागि जरूरी छ । 
नयाँ सत्ता साझेदारीले मिसन–२०८४ को लक्ष्यलाई सहयोग पुर्याउने उहाँले बताउनुभयो । 
मुलुकको राजनीतिक अवस्थालाई सकारात्मक दिशातर्फ अघि बढाउनु अहिलेको मुख्य काम भएको हुँदा सत्ता साझेदारी गर्दा कुन मन्त्रालय लिने भन्ने विषयलाई पार्टीले वास्ता नगरेको बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्ट पार्नुभयो ।