detail-img

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको छः अध्यक्ष ओली 

दश प्रतिभावान् महिलाहरू सम्मानित
सङ्घर्षशील योद्धाहरू पुस्तक लोकार्पण
दुई वृत्तचित्र प्रदर्शन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा व्यवस्था परिवर्तनसँगै अवस्थामा पनि परिवर्तन आएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले व्यवस्था परिवर्तनपछि भएका परिवर्तनबारे चर्चा गर्दै अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताउनुभएको छ ।
मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा अध्यक्ष ओलीले अहिले देशमा ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– एउटा चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? 
अहिले संसदमा र सरकारी क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था रहेको भन्दै उहाँले कानुनमा तोकिएभन्दा बढी महिला सहभागिता नगराउने प्रवृत्ति भने बेठीक भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– अब सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्याउने बाटोमा जानुपर्छ, अवस्था फेरिएको छ, अवस्था पहिले भन्दा तुलना नै नहुने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रूपमा राम्रो अवस्थामा पुर्याउने हाम्रो अगाडि जिम्मेवारी छ ।


 

नेकपा (एमाले)का उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा दशजना प्रतिभावान् महिलाहरूलाई सम्मान गरिएको थियो । अध्यक्ष ओलीले उहाँहरूलाई सम्मान गर्नुभएको थियो । 
सम्मानित हुनहरूमा उद्यमशीलतामा सफलता प्राप्त गर्नुभएकी शान्ति चड्डा, रात्रिबस चालक तथा अनाथ बालबालिकाकी संरक्षक (आमा) रेविका थापा, अर्थविद् डा. मीना आचार्य, धम्मावती गुरुमा, दुर्गमकी डाक्टर तुल्सी शाही, वर्डलाइफ फोटोग्राफर विनिता भण्डारी, समाजसेवी सावित्री थापा, मानव बेचविखनविरूद्ध अभियन्ता चरिमाया तामाङ, राजनीतिकर्मी छेदुम सोनाम लामा, सामाजिक अभियन्ता सोनिया सदाय हुनुहुन्छ । 
त्यस्तै कार्यक्रममा सङ्घर्षशील योद्धाहरू तेस्रो अङ्क पुस्तक लोकार्पण गरिएको थियो भने दुईवटा वृत्तचित्र देखाइएको थियो । 
सङ्घर्षशील योद्धाहरू पुस्तकमा २६ जना व्यक्तिहरूको जीवनी र उहाँहरूले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदान समेटिएको छ भने दुईवटा वृत्तचित्र प्रेरणादायी महिला र कम्युनिष्ट योद्धाहरूमा आधारित रहेको छ । कार्यक्रममा केन्द्रको वेबसाइट शुभारम्भ गरिएको थियो । कार्यक्रममा पार्टीका सचिव पद्मा अर्याल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल लगायत नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा केन्द्रकी सदस्य ममता गिरीले गर्नुभएको थियो ।