काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग जोडिएर काम गर्न निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीले भक्तपुरको बोडेमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसो गर्न सके मात्र समृद्धि ल्याउन सकिने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– जनप्रतिनिधिको मुख्य ध्यान हरेक नागरिकलाई कसरी धनी बनाउने, उत्पादन बढाउने र बचत गर्न सक्ने ठाउँमा पुर्याउने भन्नेमा केन्द्रित हुनुपर्छ, आफू धनी बन्ने कुरामा होइन ।
जनप्रतिनिधिलाई प्रोटोकलमा केन्द्रित नहुन र जनतासँग घुलमिल हुन सुझाउँदै अध्यक्ष भन्नुभयो– जनताको सुख–दुःखमा साथी बन्नूस्, आफूलाई मन पर्ने काम होइन, जनतालाई मन पर्ने काम गर्नूस् ।
उहाँले स्वार्थी र पछौटे तत्वसँग जोगिन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । हरेक मान्छेलाई असल बनाउने र उनीहरूको बलमा सामाजिक रूपान्तरण गर्ने गरी अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।
अब जनता र पार्टीको काममा सक्रिय नेता कार्यकर्ता मात्र पार्टीको प्राथमिकतामा पर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो–देश र जनताको काममा सक्रिय भएर लाग्नूस्, समाजको विकासमा लाग्नूस्, पार्टीको काममा सक्रिय हुनुहोस् । पार्टी सदस्यता लिएको कतिबर्ष भयो भन्ने होइन, जनताको हितमा कति काम गर्यो भन्ने कुरा मूल्याङ्कनको आधार बन्ने उहाँले स्पष्ट पार्नुभयो ।
एमालेका हरेक तहले प्रशिक्षण र भेला गर्ने र त्यसपछि परीक्षा लिएर उत्तीर्ण भएकाको रेकर्ड राखिने पनि उहाँले बताउनुभयो । अब कार्यकर्ताको मूल्याङ्कन, उम्मेदवारी र जिम्मेवारीको मुख्य आधार कार्यक्षमता र कार्य दक्षतालाई बनाइने अध्यक्ष ओलीले बताउनुभयो । केन्द्रीय पार्टी स्कुल विभाग र स्थानीय विकास विभागको समन्वयमा भएको प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य खेम लोहनी, विषय विज्ञहरू रामशरण प्याकुरेल, ओम थपलिया, केदार पनेरु, विमल पोखरेल र महेश दाहालले प्रशिक्षण दिनुभएको बाग्मती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
बुधबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका अध्यक्षहरू, वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, एक जिल्लाबाट एक वडा अध्यक्षलगायत एक सय भन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम शुक्रबासम्म चल्ने छ ।