detail-img

भविष्य हेरेर सत्ता सहकार्यः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताउनुभएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको बाग्मती प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने सोचबाट निर्देशित भएर नयाँ सत्ता सहकार्यको काम गरेको होइन ।
महासचिव पोखरेलले जे सच्चाई हो त्यो सच्चाइलाई बुझेर नै प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता एमालेको रहेको बताउनुभयो । अहिले यही समीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको र पार्टीले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको प्रष्ट पार्नुभयो । 
एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नु परेको,स्थानीय तहले बजेट कटौतीको मार खेप्नु परेका कारण विकासका काम प्रभावित भएको उहाँले सुनाउनुभयो । 
महासचिव पोखरेलले  पूर्वाधारको कामले मात्र जनतासँगको सम्बन्ध घनिष्ठ बन्न सक्ने बताउनुभयो । स्थानीय तहले जनतामा जागरण ल्याउने र आशा जगाउने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले पार्टी र जनप्रतिनिधि बिच गहिरो सहकार्य हुनुपर्नेतर्फ पनि जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिले पार्टीको सहयोग बिना म सफल हुन सक्दिन भन्ने कुरामा सदैव ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।